साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि बुधबार साँझ साढे छ बजे नेपाल र बंगलादेशबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ।
यसअघि ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेर पनि उपाधि जित्न नसकेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा छ।
सन् २०२२ को साफको फाइनलमा पनि नेपाल र बंगलादेश भिडेका थिए। दशरथ रंगशालामा भएको सो फाइनलमा नेपाल ३-१ गोलले पराजित भएको थियो।
खेलअघि नेपालका प्रशिक्षक राजेन्द्र तामाङले अघिल्ला फाइनलको कमजोरी हटाउँदै उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्ने बताए। उनले दर्शकको साथले भारतविरूद्धको सेमिफाइनल जितेको बताउँदै बंगलादेशविरूद्ध पनि दर्शकको साथ हुने विश्वास गरे।
‘उपाधिका जित्नका लागि विभिन्न रणनीति अपनाउँछौं। हामी सबै पोजिसनमा राम्रो गर्ने कोशिस गर्छौं,’ तामाङले भने, ‘खेलाडीलाई प्रोत्साहन गर्दै अघि बढ्छौं।’
उनले सेमिफाइनलमा दर्शकको साथ महत्वपूर्ण भएकाले फाइनल पनि दर्शकको फाइदा उठाउने बताए।
नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सेमिफाइनलमा घरेलु दर्शकको ठूलो साथ पाउँदा दश खेलाडीमा सीमित हुँदा पनि एघार खेलाडी नै खेलेको जस्तो महसुस भएको बताइन्। उनले फाइनलमा पनि दर्शकको साथसँगै प्रशिक्षकको रणनीतिलाई मैदानमा उतार्ने बताइन्।
१४ वर्षमा १२ औं फाइनल खेल्दै नेपाल
साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले आइतबार राति पाँच पटकको च्याम्पियन भारतविरूद्ध सनसनीपूर्ण जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो।
तनावपूर्ण खेलमा भारतमाथि पेनाल्टी सुटआउटमा ४-२ गोलको जित निकाल्दा नेपालले सात संस्करणमध्ये छैटौं पटक फाइनलमा स्थान पक्का गर्यो।
साफको फाइनल पुग्नु नेपालका लागि कुनै नौलो रहेन। नेपालका लागि अहिलेसम्म खड्किएको एउटै कुरा उपाधि नै हो। किनभने नेपाली महिला टिमले पछिल्लो १४ वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा ११ पटक फाइनल खेले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन।
जसका कारण नेपाली टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले आफ्नो लक्ष्य साफको उपाधि जित्नु रहेको बताउँदै आएकी छिन्।
नेपालले बुधबार साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा आफ्नो १२औं फाइनल खेल्दैछ। यसअघि ११ पटकसम्म फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको चोट नेपाली टोली बुधबार बंगलादेशलाई पराजित गरेर बिर्सन चाहान्छ।
यो पनि : तनावपूर्ण खेलमा भारतविरूद्ध साम्बाको सनसनी
नेपाली टोलीलाई पहिलो उपाधि जित्नका लागि घरेलु मैदान र समर्थकको भरपुर साथ हुनेछ। अझ स्टार खेलाडी साम्बाका कारण टोलीको मनोबल उच्च छ।
फ्रान्सबाट व्यवसायिक फुटबल खेल्ने साम्बाले भारतविरूद्धको सेमिफाइनलमा १० खेलाडीमा सीमित र एक गोलले पछि पर्नु जस्ता दुई प्रतिकुल अवस्थामा बराबरी गोल गरेकी थिइन्। अर्की फरवार्ड रेखा पौडेलले भने सेमिफाइनलमा रातो कार्ड पाएका कारण फाइनल भने गुमाउनेछिन्।
११ फाइनलको पीडा
नेपाली टिमले साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा स्थान बनाए पनि उपाधि जित्न भनेको सकेको छैन। सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफको फाइनलमा नेपालले भारतसँग हार ब्यहोरेको थियो। दुई वर्षअघि सन् २०२२ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगालदेशसँग पराजय भोगेको थियो।
यस्तै नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको छ। सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो।
नेपालले २०१९ मा भारतमा भएको वुमन्स गोल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो। तर नेपाली टिम उपाधि भिडन्तमा म्यानमारसँग पराजित हुन बाध्य भयो।
सन् २०१९ मै किर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि नेपालले उपविजेतामै चित्त बुझाउन पर्यो। नेपाली टिम उज्वेकिस्तानसँग पराजित भएको थियो।
यस्तै गत फागुनमा नेपालले वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा पुगेर एघारौं पटक उपाधि नजिक पुग्यो। उपाधि जोर्डनसँग फाइनल खेल्दा फेरि नेपाल अभागी सावित भयो।
वाफ पनि अभागी बनेको नेपाल
जोर्डनविरूद्धको आठ महिनाअघि भएको फाइनल भिडन्तमा नेपालले अग्रता लिए पनि दोस्रो हाफको अन्तिम २० मिनेट सम्हालिन सकेन। फिफा वरीयतामा आफूभन्दा ३१ स्थानमाथिको जोर्डनविरूद्ध नेपालले बहादुरीपूर्ण प्रदर्शन गरेको थियो। खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन्। सेमिफाइनलसम्म नेपालका लागि खेल्दा ९ गोल गरेकी साम्बा फाइनलअघि फ्रान्स गएकी थिइन्।
खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफमा नेपालकी मुख्य प्लेमेकर प्रिति राई घाइते हुन पुगिन्। सुरुमा उपचारपछि मैदान फर्किएकी प्रिति दोस्रो पटक घाइते हुँदा भने खेल्न सकिनन्। प्रिति घाइते भएर मैदान बाहिर निस्किएको बेला नेपालविरूद्ध जोर्डनले गोल गरेको थियो। तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन र खेललाई २-२ को बराबरीमा ल्याइन्।
त्यसपछि पेनाल्टी सुटआउटमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। जारी साफमा दीपा र हिराले पहिलो खेलमा चोट बोक्दा मैदान बाहिर हुनेछन्। वाफमा चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो। यससँगै नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो।
बंगलादेशविरूद्ध सहज छैन नेपाललाई
पछिल्लो समय बंगालदेशको महिला फुटबल निकै प्रगति गरेको छ। समूह चरणमा उसले पाँच पटकको विजेता भारतविरूद्ध ३-१ को जित निकाल्यो। सेमिफाइनलमा भुटानको पोस्टमा बंगलादेशले सात गोल गरेको थियो। भुटान त्यहि टिम हो जोविरूद्ध नेपालले समूहमा गोलरहित बरारबी खेलेको थियो।
सन् २०१० यता नेपाली महिला राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा १२औं पटक फाइनलमा स्थान बनाएको छ। काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिमले १४ वर्षमा १२ पटक फाइनल खेल्दैछ।
१२ वर्षमा १२औं पटक फाइनलमा भिड्न लागेको नेपालका लागि सहज भने पक्का छैन। घरेलु मैदानको फाइदा रहेको नेपालले बंगलादेशको युवा र अनुभवी खेलाडीको लयलाई तोड्न सहज छैन।
अर्कोतर्फ बंगलादेशले दुई वर्षअघि भएको साफको फाइनलमा नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै पहिलो पटक उपाधि जितेको थियो। खेलमा नेपाल निकै निरिह सावित भएको थियो। यद्यपी फाइनलमा नेपालकी स्टार फरवार्ड ‘साम्बा’ डेंगी सक्रमणका कारण पनि खेलेका थिए। त्यसअघि साम्बाले श्रीलंकाविरूद्धको समूह चरणको अन्तिम खेल र भारतविरुद्धको सेमिफाइनल गुमाएकी थिइन्।
नेपाली टिमलाई खड्किएको अर्को पक्ष भने साफको तयारीअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नपाउनु हो। अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको १४ वर्षमै बंगलादेशले सार्क क्षेत्रमा बलियो बन्दै गएको छ। महिला फुटबल विकासका लागि लगानी गरिरहेको बंगलादेशले ग्रासरुट फुटबल अभियान सञ्चालन गरिरहेको छ।
बंगलादेशले महिला फुटबलमा सन् २००७ देखि मात्र राष्ट्रिय टिम बनाएर खेल्न थालेको थियो। तीन वर्षपछि मात्र बंगलादेशले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्यो। सन् २०१० को दक्षिण एसियली खेलकुदमा नेपालविरूद्ध खेल्दै बंगलादेशको महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। डेब्यू खेलमा भने बंगलादेशलाई नेपालले १-० गोलले हराएको थियो।
त्यसयता बंगलादेशले महिला फुटबलमा लगातार लगानी गरिरह्यो। सन् २०१६ मा त्यसको परिणाम देखिएको थियो। सन् २०१६ मा एएफसी यू-१६ च्याम्पियनसिप छनोट पार गर्दै बंगलादेशको यू-१६ महिला टिमले इतिहास रचेको थियो। छनोटमा उसले इरान, चाइनिज ताइपेई, यूएई, सिंगापुर र किर्गिस्तान रहेको समूहमा शीर्ष भएको थियो।
सन् २०१७ मा एएफसी यू-१६ च्याम्पियनसिपमा खेल्ने एक्लो दक्षिण एसियाली टिम बनेको बंगलादेशले समूह चरणमा जापान, अस्ट्रेलिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गरेको थियो। तीनै खेलमा पराजित हुँदा १५ गोल खाएको बंगलादेशका खेलाडीका लागि अनुभव बटुल्ने ठूलो मौका बन्यो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ३ गोल खाएको बंगलादेश २ गोल गर्न सफल भएको थियो। कुनै समय २-१ ले अघि रहेको बंगलादेशले अन्तिम १२ मिनेटमा २ गोल खाएको थियो।
त्यसयता उमेर समूहका खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन थाले। अनि बंगलादेशको महिला राष्ट्रिय टिम बलियो बन्दै गयो।
सन् २०२१ मा बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको थियो। पहिलो खेलमा नेपाल २-१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकियो।
एक वर्षपछि त बंगलादेशले नेपाललाई घरेलु मैदानमै हराइदियो। सन् २०२२ को साफको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले पराजित गर्यो। सो हार नेपालले बंगलादेशसँग ब्यहोरेको पहिलो हार थियो।
यसपटक बंगलादेश झनै बलियो देखिएको छ। कप्तान सबिना खानुत र तोहुरा खातुन उत्कृष्ट लयमा देखिएका छन्। पाँच पटकको च्याम्पियन भारतमाथि ३-१ को जित निकाल्दा तोहुराले दुई गोल गरेकी थिइन्।
तर पनि घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई छ। स्टार खेलाडी साम्बासँगै दक्षिण एसियाली स्तरका लिग खेलिरहेका नेपाली टोलीका अन्य खेलाडीले नेपाली टोली बलियो छ।
गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि हालै ग्रिसको क्लबसँग सम्झौता गरेकी थिइन्। भारतविरूद्धको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा हिरो सावित बनेकी अन्जना राना मगर नेपाली टोलीको राम्रो विकल्प हुन्। डिफेन्समा गीता राना, अमृता जैशी, पूजा राना, विमला विक अनुभवी छन्।
मिडफिल्डमा प्रिति राई नेपालको खम्बा हुन्। यससँगै सविता राना मगर, अमिषा कार्की, सरु लिम्बूले नेपाली टोली सन्तुलित बनेको छ। नेपालको सबैभन्दा बलियो पक्ष भनेको साम्बा अग्रपंक्तिमा हुनु हो। प्रशिक्षकले साम्बाका लागि सहि रणनीति बनाउन सके नेपालले जुनै बेला पनि विपक्षी विरूद्ध गोल गर्न सक्छ।