मर्यो जिउँदै त्यो जसले बिर्स्यो देशको माटो — कवि मविवि शाह
एकसरो आङ ढाक्ने कपडा र एकपेट खाने सातुचामल जोहो गर्न पनि स्तरहीन भारतीय श्रम बजारमा आफूलाई नार्नुपर्ने हालतबाट गुज्रिएका नागरिकले तिरेको तिरोबाट सुसम्पन्न जिन्दगीको ग्यारेन्टी जन्मँदै प्राप्त गरेका महाराज महेन्द्र वीरविक्रम शाहदेव नै हो, माथिको कविता लेख्ने कवि मविवि शाह।
उनी वीर थिए कि थिएनन्, विक्रम थिए कि थिएनन् – त्यो बेग्लै कुरा हो।
देशको पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारलाई बलात् कब्जा गर्दै सैन्य पोसाक लगाएर फौजी बलको मद्दतमा निरंकुशता लाद्न उनले देखाएको वीरता र विक्रमशीलता एउटा कुरा हो। मुख्य कुरा चाहिँ राष्ट्रभक्तिको कपिराइट रिजर्भ गरेका महाराजको सुनिने राष्ट्रवाद र देखिने राष्ट्रवाद कस्तो थियो भन्ने हो। फेरि पनि, यहाँ कुरा गर्न लागिएको प्रसंग माथिकै कविताको हो।
एउटा जाली खेलको सिलसिला
यताका केही वर्षदेखि राष्ट्रवादका राजनीतिक कारोबारीहरूले आफूलाई राष्ट्रवादी देखाउने प्रमाणपत्रका रूपमा उठाउने विषय हो — कालापानी, लिम्पियाधुरा र लिपुलेक जो मिचिएको छ भारतीय पक्षद्वारा।
यहाँ राष्ट्रवादको राजनीतिक कारोबारी किन भनिएको भने – तिनले अतिक्रमणको कुरा उक्त भूगोललाई अतिक्रमणबाट मुक्त गराउन होइन, राजनीतिको रोटी सेक्न गरिरहेका छन्। तिनको राष्ट्रवादको सक्कली अनुहार स्याटलाइटबाट बिजुली बेच्ने फर्जी गफ बेचेर महाकाली सन्धि गर्नेदेखि मदन भण्डारी फाउन्डेसनका नाममा भारतीय पैसा ल्याएर पार्टीभित्रको गुट चलायमान बनाउनेसम्म देखिएकै हो। अन्यथा, देशलाई प्रेम गर्नु र राष्ट्रवादी हुनु अपराध होइन।
आजको राष्ट्र र राज्यको अस्तित्वसँग जोडिएर नागरिक परिचय अनिवार्य हुने दिनमा देशप्रेम सुन्दर कुरा नै हो। उसै पनि देशप्रेम र राष्ट्रवाद बेग्लाबेग्लै हुन्।
राष्ट्रवाद हमेसा शासक वर्गले जनता गिजोल्ने स्वार्थी अस्त्रका रूपमा प्रयोग भइरहेको छ इतिहासभर। देशप्रेम भनेको नागरिकले आफ्नो स्वभूमिप्रति प्रकट गर्ने निस्वार्थ समर्पणका रूपमा प्रयोग हुन्छ। यही फरक छ शासक वर्ग र जनताबीच। एउटा स्वार्थबाहेक केही नसोच्ने, देशका सम्बन्धमा कुरा गर्दा पनि राजनीतिको रोटी कसरी सेकिन्छ भन्ने स्वार्थको घोडामा सवार हुने; र अर्को आफ्नो जीवन नै गुम्ने सर्तमा पनि स्वभूमिप्रतिको समर्पण नछाड्ने।
त्यही आजका शासकले राष्ट्रवादको आवरणमा राजनीति चम्काउन गिजोलिरहेको नेपालको कालापानी र लिपुलेकको भूमि भारतीय कब्जामा गएको थियो महान राष्ट्रवादी शासक महेन्द्रका पालामा। त्यहाँको ३७००० हेक्टर जमिन भारतीय अतिक्रमणमा परेको छ। उक्त भू–भाग नेपालका अतिराष्ट्रवादी राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार बिघटन गरी आफ्नो मुठीमा मनोमानी व्यवस्था मुठ्याएको दुई वर्ष नपुग्दै २०१९ साल कात्तिकमा भारतीय अतिक्रमणमा परेको हो।
महेन्द्रले भारतको पूर्वअनुमोदनमा बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकार भंग गर्दै राजाको सिंहासनसहित जनताका छोराछोरी बस्न मिल्ने मेचसमेत आफैले ओगट्न शाही 'कू' गरेको केही समयमै भारत र चीनबीच युद्ध भयो। तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले चीनविरूद्ध युद्धमा प्रयोग गर्न नेपालको कालापानी क्षेत्रमा भारतीय फौज राख्ने अनुमति मागे। महेन्द्रले पनि आफ्नो 'कू' लाई पृष्ठपोषण र पार्श्व समर्थन दिएबापत नेपाली भूमि कालापानीमा भारतीय सुरक्षाफौज राख्ने अनुमति दिए।
यसरी २०१९ सालदेखि कालापानी क्षेत्रमा भारतको इन्डो–तिब्बत बोर्डर पुलिस तैनाथ भयो र पोस्ट खडा गरेर बस्यो।
कालापानीमा भारतीय अतिक्रमणको आरम्भ २००९ सालदेखि नै भएको थियो, जति बेला नेपालमा राजतन्त्र थियो। त्यस्तो राजतन्त्र, जो कसलाई प्रधानमन्त्री बनाउने र कसलाई नबनाउने भनेर किस्तीमा प्रधानमन्त्री पद बोकेर बसेको थियो। त्यही समय राणा–कांग्रेस संयुक्त सरकार ढलेपछि कांग्रेस केन्द्रीय समितिले सरकारको नेतृत्व गर्न बिपीको नाम पठाएको थियो। तर त्रिभुवनले मनमौजी तवरले मातृकाप्रसादको नेतृत्वमा सरकार बनाए। त्यही घटना थियो, बिपी र मातृकाबीच कटुता उत्कर्षमा पुर्याउने।
अन्ततः कांग्रेस फुटाएर प्रजा पार्टी बनाए मातृकाले। भनिन्छ, बिपीलाई प्रधानमन्त्री बनाउनै हुँदैन भनेर त्रिभुवनलाई महेन्द्रले लपेटिरहेका थिए। भारत बिपीलाई सत्तामा देख्नै चाहँदैनथ्यो। किनभने, कांग्रेसले विज्ञप्ति नै जारी गरेर नेपाली राजनीतिमा हस्तक्षेप गरिरहेका भारतीय राजदूत सिपिएन सिन्हालाई फिर्ता बोलाउन माग गरेको थियो। बिपीलाई प्रधानमन्त्री दिए संविधानसभा चुनाव गराउनुपर्छ भन्नेमा त्रिभुवन–महेन्द्र जानकार थिए।
यसरी भारतीय स्वार्थमा आफ्नो स्वार्थ मिसाएर त्रिभुवनले गोजीबाट झिकेर बनाएको सरकार थियो मातृका नेतृत्वको। त्यसरी जोरजुलुमसाथ राजाले प्रधानमन्त्री बनाएका तिनै मातृकाको प्रधानमन्त्रीत्वकालमा नेपालका १७ स्थानमा भारतीय सुरक्षा पोस्ट राखिएका थिए। देशको माटोभित्र अर्को देशको फौज ल्याएर सुरक्षा पोस्ट राख्न दिने राजा–महाराजाले देशको माटो रक्षा गर्ने कविता लेख्नु जति लज्जास्पद र नांगो छ, उति नै लज्जास्पद छ राजा–महाराजाले देश जोगाइदिन्छन् भन्ने पाल्सी निबन्धको खेती।
२०२७ सालमा अन्य भारतीय सुरक्षा पोस्ट हटाइए पनि कालापानीको पोस्ट हटाइएन। २०१९ मा महेन्द्रले कालापानीमा भारतीय फौज राख्न दिएपछि उक्त भूमि भारतीय कब्जामा गयो। यसरी आफ्नो हुकुमतलाई पर्दा पछाडिबाट धाप दिएबापत देशको माटो नै अरूको फौज राख्न सुम्पनेहरूले आफूलाई महान राष्ट्रवादी देखाउन सक्कली अनुहार लुकाएर नक्कली राष्ट्रवादी चेहराले कहिले पाठ्यपुस्तकमार्फत, कहिले गीतमार्फत त कहिले कविता र निबन्धमार्फत जनताको चेतनालाई डस्ने काम तीव्र बनाए।
त्यही क्रममा 'चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिए' लेखेर प्रचारित गर्दै जनताको चेतना डाम्न पनि कुनै कसर बाँकी राखिएन। राजालाई विष्णु अवतारका रूपमा प्रचारित गर्दै राजा बिनाको देशलाई कल्पनाभन्दा माथिको विषयका रूपमा जनताको चेतनामा आरोपण गराइयो।
र, त्यहीँबाट निसृत भयो — 'राजा भनेको देश, देश भनेको राजा' भन्ने जाली भाष्य।
२००७ साल अघिसम्म लिम्पियाधुराबाट बग्ने नदीलाई काली भनिएकोमा महेन्द्रले कालापानीमा फौज राख्न दिएपछि जारी नक्साहरूमा कुटी याङ्दीलाई कालीका रूपमा देखाउन थालियो। पञ्चायत कालमा २०३२ सालतिर जारी नक्साबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा गायब गरेर 'बुच्चे' नक्सा जारी गर्दै शाही सरकारले नेपाली माटोमा जारी भारतीय अतिक्रमणलाई अनुमोदन गरेको थियो।
महेन्द्रीय पञ्चायतले गायब बनाएको नेपाली भूमि समावेश गरेर 'चुच्चे' नक्सा जारी गर्न यो देशले गणतन्त्रकै प्रतिक्षा गरी बस्नुपर्यो।
भारतले देशको ३७००० हेक्टर जमिन अतिक्रमण गरेर कब्जा गरेको नौ वर्षसम्म देशको माटो बिर्सेर महेन्द्र भने कविता लेख्दै जाली राष्ट्रवादको चंगा उडाइरहे र भनिरहे – मर्यो जिउँदै त्यो जसले बिर्स्यो देशको माटो।
के शासक हुनु भनेको नागरिकको टाउकोमा आडम्बरी आदर्शको ढुंगा हानेर आफू सिकार क्याम्पमा मुटु चर्किने गरी बन्दुक पड्काएर बस्नु मात्रै हो?
जननिर्वाचित सरकार बर्खास्त गर्दै कम्मरमा पेस्तोल भिरेर हिँड्ने महेन्द्र देशको अतिक्रमित भूगोल जोगाउन कतिपटक राइफल बोकेर अतिक्रमणकारीविरूद्ध लड्न गए?
प्रजातन्त्र निमोठ्न र निर्वाचित प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूलाई निचोर्न फौज परिचालन गर्ने महेन्द्रले देशको अतिक्रमित माटो जोगाउन कतिवटा मोर्चामा कतिपटक फौज परिचालन गरे?
कालापानी–लिपुलेकमा मात्र होइन, तिनै महान राष्ट्रप्रेमी महेन्द्रकै पालामा २०२२ सालमा झापाको बुधबारे नक्कलबन्दामा २५ हजार बिघा जमिन भारतीय अतिक्रमणमा परेको छ। अतिक्रमित भएर विवादित भूमिका रूपमा छाडिएको मात्र होइन, सुगोली सन्धिमा समेत नेपालमा रहेको नेपाली माटो महेन्द्रको हुकुमी शासनकालमा भारतलाई सुम्पिएको घटनासमेत हामीसँग तथ्यका रूपमा मौजुद छ।
२०१९ सालमा सुनसरीको घुस्कीदेखि मेची किनारसम्मको ७ हजार बिघा जमिनमा भारतीय अतिक्रमण सदर गर्दै भारतलाई सुम्पिइयो। यसले प्रस्ट पार्छ, न त राजा हुँदैमा देशको माटो जोगिन्छ, न फर्जी कविता लेख्ने राजा–महाराजाहरूले नै देश जोगाउँछन्, देशको माटो जोगाउँछन्।
बरू राजा–महाराजाहरूको इतिहास अलिकति कोट्याउनासाथ देखिन्छ, आफ्नो स्वार्थका लागि देशै बेच्न पनि पछि नपरेका दृष्टान्तहरू।
इतिहास: झुरूम्मै चर्किएको ऐना
संसारभरका शासकहरूको आजसम्म उपलब्ध इतिहास हेर्ने हो भने राजा–महाराजाहरूले आफ्नो स्वार्थ रक्षाका लागि देशलाई कहिल्यै प्राथमिकतामा राखेनन्। केही अपवाद जेमा पनि हुन्छ, जहाँ पनि हुन्छ।
राजा–महाराजाको मूलधार आफ्नो भोगविलास र निजी स्वार्थ रक्षाको विवरणले भरिएको छ। जनता र देश तिनका लागि सजिलो समयका लागि रजाइँको मैदान मात्र हो। संकटको समय तिनले देश र जनतालाई अलपत्र हालतमा छाडिदिन्छन्। इतिहासका केही घटनाको आँखीझ्यालबाट यसलाई चियाएर हेर्ने प्रयास गरौं —
क) युगीन ऐना
चौथो शताब्दीमा मगधमा नन्द वंशको शासन थियो। तिनै नन्द वंशका अन्तिम राजा धनानन्दलाई चन्द्रगुप्त मौर्यले पराजित गरे।
धनानन्द एक लोभी र अलोकप्रिय शासक थिए। चन्द्रगुप्तले आक्रमण गरेपछि उनी देश र जनताको वास्ता नगरी भएभरको सम्पत्ति पोको पारेर भागे ज्यान जोगाउन – आफ्ना जनता र देशलाई चन्द्रगुप्तका सेनाहरूको परेडमुनि पिल्सिन छाडिदिएर।
धनानन्द भागे पनि मगधी जनताले त्यहीँ बाँच्नुपर्यो।
शासकले देश जोगाउने भए किन भागे धनानन्द? शासकले जनता जोगाउने भए आफ्ना जनतालाई चन्द्रगुप्तको हातमा किन छाडिदिए धनानन्दले?
छैठौं शताब्दीमा यहूदाका अन्तिम राजा थिए, जेडेकिया। बेबिलोनका राजा नेबुच अड्नेजर द्वितीयको सेनाले यरूशलेम (जेरूसेलम) लाई घेरा हाल्यो। जेडेकियाले आफ्नो परिवार र केही निकट सैनिक नेतृत्वसहित भाग्ने प्रयास गरे। त्यो देखेपछि मानिसहरूले उनलाई समातेर बेबिलोनियन सैनिकलाई बुझाइदिए। जेडेकियाले जोगाएनन् देश। अड्नेजरको फौजको हमला हुनासाथ जनतालाई अलपत्र छाडेर आफू र आफ्ना स्वार्थ मण्डली लिएर भागे।
त्यही बेबिलोनका अन्तिम राजा नाबोनिदस पर्सियन शासक साइरस दी ग्रेटको आक्रमणबाट बच्न बेबिलोनको राजधानी छाडेर भागे र देशलाई सारइसको मैदान बन्न छाडिदिए।
एथेन्सका तानाशाह हिप्पियासले जनविद्रोह र स्पार्टाको आक्रमण सामना गर्न नसकी भागेर पर्सिया गए। ब्याक्ट्रियन राजा डमेट्रियस द्वितीय आन्तरिक विद्रोह र पर्थियन आक्रमणबाट बच्न भागेर भारतीय उपमहाद्वीपको गान्धार क्षेत्रमा पलायित भए।
यसरी आफै भागेर हिँड्ने शासकले जोगाउँछ देश? देश जोगाए जनताले जोगाउने हो। नत्र न राजतन्त्रले देश जोगाउँछ, न त गणतन्त्रले। न राजाले जोगाउँछ देश, न अर्को कुनै रूपको शासकले। त्यसैले जनता नै देशको शक्ति भएकाले सार्वभौमसत्ता जनतामा भनिएको हो। राजा–महाराजाहरूमा सार्वभौमसत्ताको स्रोत केन्द्रित गराउने सामन्तीतन्त्रले देश जोगाउँदैन। जोगाउन सके देश जनताले नै जोगाउँछ। जसले जोगाउन सक्छ, उसैमा सार्वभौमसत्ता निहीत हुनुपर्छ भनेर देशबाट राजतन्त्र हटाइएको हो र जनतालाई मुलुकको अधिपति बनाइएको हो।
जनताका बीचबाट छानिएको नेतृत्व खराब हुनु जनता खराब हुनु होइन। राजा–महाराजाको पगडीबाट सार्वभौमसत्ता जनतामा निहीत गराउने अभ्यास खराब हुनु होइन। आज सत्तामा बसेर कुवा फोहोर बनाइरहेका भ्रष्ट नेता खराब हुनु देशै खराब हुनु होइन। पूरै जनता खराब हुनु होइन। जनतामा निहीत सार्वभौमसत्ताको अभ्यास खराब हुनु होइन। यसको विकल्प वंशवादी र परिवारवादी राजा–महाराजा हुन सक्दैनन्। तिनले यो देश जोगाउँदैनन्। देश जोगाउन जनता चाहिन्छ।
देश जोगाउन जनता चाहिने भएपछि सार्वभौमसत्ता कुनै राजा–महाराजामा हुनु हुँदैन। यो एकदमै सरल कुरा हो। यति बुझ्न कुनै रकेट साइन्सको ज्ञाता हुनुपर्दैन।
ख) चरक
वंशावलीहरूमा भनिएको छ, यहाँ कुनै समय गोपालहरू शासन गर्थे। ती हराएर गए। तर यहाँको भूगोल हराएको छैन।
महिषपाल, किराँत, लिच्छवि शासकहरू आए, गए। ती जाँदैमा यहाँको माटो हराएन। शासकहरू भागेर अन्त गए तर यहाँका मानिस भागेनन्। बरू अन्तर्घुलित भएर नयाँ स्वरूपको समाज बनाए। संस्कृति विकास गरे र समाजको गति नयाँ लयमा अघि बढाए।
लिच्छविहरू लघारिएर मल्लहरू आए। कतै सेन शासकहरू थिए। कतै किराँती शासकहरू थिए। कतै खस शासकहरू थिए। ती भागे या हराए। ती तमाम छोटेबढे राजा–महाराजाहरू अप्ठ्यारो परेपछि भागे। तर जनता भागेर जाने ठाउँ थिएन। त्यसैले यहाँका मानिस भागेनन्।
गोर्खालीहरूले राज्य विस्तार अभियान चलाएपछि मकवानपुरे राजाहरू भागे, मकवानपुरे जनता भागेनन्। विजयपुरे, लमजुङे, पर्वते या आदि इत्यादि शासकहरू आफ्नो राज्य छाडेर भागे। तिनका भारदार भागे या समातिए र गिँडिए। तर जनता भागेनन्। शासक फेरबदल हुनसक्छ। आफ्नो भूगोलको रजाइँकर्ता बदलिन सक्छ तर भूगोल रहिरहन्छ।
ग) उत्कर्ष
राजपरम्परा अनुसार जेठो छोरा गद्दीको अधिकारी हुनुपर्नेमा एउटी महिलासँगको कामवासनामा परेर रणबहादुरले जेठो छोरा रणोद्यात शाहलाई गद्दी दिएनन्। तिरहुते विधवा कान्तवतीको रूप र यौवनमा लठ्ठिएका रणबहादुरले तिनै कान्तवतीबाट जन्मिएका १७ महिनाका छोरा गिर्वाणयुद्धलाई आफू जिउँदो छँदै राजा घोषणा गरे र आफू स्वामी निर्गुणानन्द भएको घोषणा गरे।
भाइभारदारले तलबितल नगरून् भनेर रणबहादुरले सारा भाइभारदार जम्मा गरेर धर्मशिला र तामा छुन लगाई 'गिर्वाणयुद्धलाई राजा मानेर देश थाम्न अहिलेभन्दा दोब्बर भक्तिभाव लगाउनेछौं' भनी धर्मपत्र गर्न लगाए र किरिया खुवाए।
त्यसरी आफैले धर्मपत्र गराएर, किरिया भकाएर १७ वर्षे छोरालाई राजा बनाएर जिम्मा लगाएका भारदारविरूद्ध १८५७ वैशाख १८ गते रणबहादुरले पाटनमा बसेर युद्ध घोषणा गरे। दामोदर पाँडेले रणबहादुरको हाँक स्वीकार गरी फौज लिएर धर्मस्थली आइपुगेपछि कायरताको सिरक ओढेर बाहिर नक्कली साहसको भेडा कराई गरेका रणबहादुर १८५७ जेठ ८ गते राति भागेर काशी गए।
भागेर काशी पुगेका रणबहादुरले आफ्नो ऐयाशी जारी राख्न कम्पनी सरकारलाई देशै जिम्मा लगाउने भाकाको पत्र पठाए। उनले कम्पनी सरकारलाई लेखेका थिए –
आफूलाई नेपालको राजामा पुनर्स्थापित गराइदिए प्रतिवर्ष नेपालको आम्दानीको चौवन्नौं भाग इस्ट इन्डिया कम्पनी सरकारलाई बुझाउने। पाल्पा राज्य र रामनगरसमेत दिलाइदिए १० आनामा ६ आना आम्दानी कम्पनी सरकारलाई बुझाउने। नेपालको गद्दीनासिनका उत्तराधिकारी कोही नरहे कम्पनी सरकारले नेपालको राज्यमा तजबिज जमाउन पाउने। र, आफूलाई कम्पनी सरकारबाट सालिन्दा २० हजार रूपैयाँ दिलाउने र कुमाउदेखि मोरङसम्म चलेका सबै कचिंगल मेटाई त्यहाँ नेपालको एकाधिकार पारिदिए आम्दानीको आधा हिस्सा कम्पनी सरकारलाई बुझाउने।
यस्तो देशै कम्पनी सरकारलाई बुझाउने भाकाको पत्र लेख्ने अरू कोही थिएनन्, आजको दिनमा मुढेचेतनाले प्रताडित भएर यो देश राजाहरूले बनाएको, यो देश बचाएको राजाहरूले भन्दै गाना–बजाना गर्नेहरूका तिनै राजाका पितापुर्खा रणबहादुर शाह थिए।
नवनिर्मित नेपाल राज्यको सार्वभौमसत्ता, स्वतन्त्रता र मर्यादामाथि घातक प्रभाव पार्ने प्रस्ताव राख्दै केही हजार रूपैयाँका लागि नेपाल नै कम्पनी सरकारलाई हस्तगत गर्न पत्र लेख्ने रणबहादुरहरूले बचाएको हो यो देश, कि रणबहादुरजस्ता राजाहरूको देश बेच्ने दुराशय टारेका नागरिकहरूले?
यो देश न भागेर काशी गएका रणबहादुरले बचाएको हो न गद्दीमा राखिएका १७ महिने राजाले।
घ) अत्यास
साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीबीचको तानातानमा परेर थुप्रै भारदारहरू मारिए। राजेन्द्रविक्रम लम्पट र अकर्मण्य शासकका रूपमा पदमा बसे पुतलासरी।
देश र जनताको चिन्ता नगरी यी रानीहरू पनि आफ्ना छोराहरूलाई राजा बनाउन देशलाई अस्थिरताको भुंग्रोमा हाल्दै वितण्डापूर्ण रक्तपात मच्चाइरहेका थिए। त्यही छिनाझप्टी र स्वार्थको टकराव समाधान गर्ने सामान्य हुतिसमेत राजा पदमा बसेका निकम्मा राजेन्द्रविक्रमले देखाउन नसक्दा इतिहासकै त्रासद कोतपर्व मञ्चन हुनपुग्यो।
कोतमा भयानक मारकाट चलेको थियो। त्यसलाई रोक्ने प्रयास गर्नुको सट्टा राजेन्द्रविक्रम भागेर लैनको अंग्रेजी रेसिडेन्सीमा गुहार माग्न गए।
जब जब देशमा संकट आइपरेको छ, पृथ्वीनारायण शाहबाहेक ज्ञानेन्द्रका पितापुर्खाहरू आफ्नो निजी जीवन जोगाउने तुच्छ धन्दामा लागेका छन्। बदलामा हरेकपटक देशलाई झन् कमजोर र परनिर्भर बनाएका छन्। कोतको त्यही मारकाटको परिस्थिति काबुमा राख्ने हैसियतसमेत नराखेका ज्ञानेन्द्रका पुर्खा राजेन्द्रविक्रमको डरपोक र आत्मसुरक्षावादी घृणित अवसरवादका कारण देश वंशवादी शाह खानदनलाई समेत पिँजरामा कैद गर्दै राणाशाहीको वंशवादी हुकुमतको बन्दी बन्न पुग्यो।
भएको आफ्नै सत्तासमेत जोगाउन नसक्ने शाहशाहीहरूले यो देश बचाएको भन्ने जाली भाष्यले नेपाली समाजको चेतना डस्ने पञ्चायती स्कुलको ज्ञान वितरण तथ्यहरूको मान्द्रोमा नांगै सुकिरहेको देखिन्छ।
कोतपर्वमार्फत राणाशाहीको बन्धक बनेको राजशाहीलाई शक्तिमा फिर्ता ल्याउनसमेत नेपाली जनताले संघर्ष गरिदिनुपर्यो। बलिदान गर्नुपर्यो। आफूलाई जोगाई पाऊँ भनेर भारतको पाउमा शरण पर्न जाने त्रिभुवन र उनको सारा परिवारको देशघाती कदमले आजसम्म नेपाल भारतीय हस्तक्षेपको खेलमैदान बनिरहेछ।
सत्ता र शक्तिबाहेक देश र जनतालाई भ्रम ठान्ने राजाशाहीहरूको शक्तिमा आउन विदेशीको पाउ पर्ने त्यही 'गौरवपूर्ण' विरासत पछ्याउँदै पुनरूत्थानको दिवास्वप्न देखेर भौंतारिएका ज्ञानेन्द्र शाह भारतका प्रदेश–प्रदेशका मुख्यमन्त्रीहरूको पाउ पर्दै हिँडिरहेको लज्जास्पद र टिठलाग्दो दृश्य अब सामान्य बन्न थालेको छ।
ङ) पराकाष्ठा
देशभित्र राणाशाहीको हुकुमतलाई चुनौती दिँदै वीर योद्धाहरू हाँसी हाँसी छातीमा गोली थापिरहेका थिए। राजा त्रिभुवन भने ती वीर योद्धाहरूको साहसलाई संरक्षण गर्दै देशभित्रै बसेर संघर्ष संचालन गर्ने जोखिम मोल्न तयार भएनन्। बरू आत्मसुरक्षावादी राजाशाहीहरूको परम्परा पछ्याउँदै भागेर भारत गए। त्यसपछि नेपाल देशले आजसम्म स्वतन्त्र र सार्वभौम देशका रूपमा भारतीय हस्तक्षेपबाट निस्किएर टाउको उठाउन सकेको छैन।
अदालत, कर्मचारी, सेना, सरकारमा प्रत्यक्ष भारतीय प्रतिनिधिलाई त्रिभुवन र उनको परिवारले निम्तो दियो। हुँदाहुँदा नेपालका विभिन्न स्थानमा भारतीय सुरक्षा पोस्ट नै राख्न दिए राजाशाहीहरूले। देशलाई अघोषित भारतीय राज्यका रूपमा व्यवहार गराए। भारतीयका लागि खुला खेल मैदान बन्न राजाशाहीले दिएको त्यही सुवर्ण अवसर उपयोग गर्दै भारतले नेपालको भूगोलमाथि अतिक्रमण गर्ने सिलसिला तीव्र बनायो।
देश जोगाउने, देश बचाउने भनेर महिमामण्डन गरिएका तिनै राजा–महाराजाहरूले सत्तामा ढलीमली गरेका बेला नेपालको विशाल भूमिमाथि भारतीय कब्जा कायम भयो। चाहे त्यो राष्ट्रवादको जाली भाष्यकार महेन्द्रका पालामा होस् या उनी प्रदत्त निरंकुश पञ्चायती कालमा होस् या देशको अस्तित्व रक्षा गर्न संवैधानिक भए पनि राजा चाहिने भनिएको संवैधानिक राजतन्त्रकालमा होस् देशको सीमा जोगिएन। भारतीय अतिक्रमण रोकिएन।
देश बचाउने, जोगाउने राजा कहीँ देखिएनन्। मिचिएको जमिनमा गएर उनीहरू कहीँ उभिएनन्। देशको भूगोल बचाउन न त ती कहिल्यै सुनिए न कहिल्यै कहीँ देखिए। आफ्नो स्वार्थको भकारी भर्न मात्रै उनीहरू जनताको अधिकार मुट्ठीमा कैद गरेर निरंकुश बन्न भने जहिल्यै अग्रसर रहे।
अतिक्रमणको निलडाम
आजको दिनमा देश जोगाउन, देशको माटो जोगाउन राजा चाहिन्छ भनेर जनतालाई भ्रमित पार्ने प्रयासको एउटा हिस्साका रूपमा जाली भाष्य फालिएको छ – राजा देशप्रेमी हुन्छन्। देशको अस्तित्व जोगाउन संवैधानिक भए पनि राजा चाहिन्छ।
राजाले देश जोगाउँदैनन्, देश जोगाउने, माटो जोगाउने त जनता हुन् भनेर माथि पटकपटक उल्लेख गरिसकियो। नेपालको हकमा त चाहे निरंकुश राजतन्त्र होस् चाहे संवैधानिक राजतन्त्रकाल होस्; राजतन्त्रले देशको भूगोल जोगाउन कुनै योग्यता देखाएको कमसेकम तथ्यहरूले प्रमाणित गर्दैन। यसलाई एकपटक जतिसुकै कुरूप भए पनि तथ्यहरूको मालामा उनेर हेरौं –
नेपाल र भारतबीच कालापानी–लिम्पियाधुरासहित ७१ स्थानमा सीमा विवाद छ। लगभग ६०६६२ हेक्टर जमिनमाथि विवाद कायम छ।
नवलपरासीको सुस्तामा १४५०० हेक्टर जमिन १९९८ सालदेखि लगातार अतिक्रमणमा पर्न थाल्यो र २०२० सालदेखि त्यहाँ भारतीय अतिक्रमण सघन भयो। तर राष्ट्रवादी महाराज महेन्द्रले नेपाली भूमि भारतीय अतिक्रमणबाट मुक्त गराएनन्।
त्यही सुस्तामा पुनः महेन्द्रका माइला छोरा ज्ञानेन्द्रले पिताले जसरी नै अधिनायकवादी शासन सञ्चालन गरेका बेला २०६१ सालमा भारतीय सशस्त्र सुरक्षा बलले नेपाली चौकीमाथि हमला गरी हतियार र प्रहरीलाई नियन्त्रणमा लिएको थियो। त्यहाँ देशको माटो जोगाउन न त माटो नभुल भनेर कविता लेख्ने महेन्द्र भेटिए, न पिताजस्तै देखिने र सुनिने राजा भएका ज्ञानेन्द्र नै।
बरू सुस्ताका जनता निरन्तर भारतीय अतिक्रमणविरूद्ध आन्दोलित छन्। ती आन्दोलित जनतालाई अतिक्रमित जमिन फिर्ता ल्याउन न त महेन्द्रले साथ दिए, न ज्ञानेन्द्रले।
महेन्द्रीय पञ्चायतको प्रत्यक्ष राजशाहीकालमै कञ्चनपुरस्थित ब्रह्ममदेव मण्डीको पश्चिमी भागको खल्लामसिटा र माथिल्लो सिद्धनाथ थानसम्मको १५ हेक्टर जमिन २०२९ सालमा भारतीय अतिक्रमणमा पर्यो।
कञ्चनपुर, रामपुर, बिलासपुरको भुडा गाउँ र पइचु गाउँको १४ हेक्टर जमिन २०३५ सालमा भारतीय अतिक्रमणमा पर्यो। कञ्चनपुरकै परासनको प्याराताल नजिक ९८० हेक्टर जमिन २०३५ सालमा अतिक्रमणमा पर्न सुरू भयो भने भीमदत्त नगरको बनवासा तटबन्धदेखि गड्डाचौकीको पुलेसोसम्मको ३० हेक्टर जमिन २०३६ सालमा भारतीय अतिक्रमणमा पर्यो। चितवन वाल्मिकी आश्रम क्षेत्रको १७० हेक्टर जमिन पनि २०३६ सालमा अतिक्रमणमा पर्यो।
त्यस्तै, सर्लाही नारायणपुर हर्दी नदी पश्चिमको संग्रामपुरको ८ हेक्टर जमिन २०३७ सलमा अतिक्रमण भयो। इलाम श्रीअन्तुको गुफाताल क्षेत्रमा करिब ९ हेक्टर जमिन २०३८ सालमा भारतले अतिक्रमण गर्यो। सुनसरीको कोशी ब्यारेज पूर्वको भन्टाबारीमा १५ हेक्टर जमिन २०३९ सालमा अतिक्रमण भयो।
यही क्रममा बर्दिया भीमापुरको १० हेक्टर जमिन २०४० सालमा अतिक्रमणमा पर्यो। दाङ कोइलावासको २५ हेक्टर जमिन २०४० सालमा अतिक्रमित भयो। पर्सा ठोरी ठुटेखोला क्षेत्रको ७० हेक्टर जमिन २०४२ सालमा अतिक्रमण गरियो।
यसैगरी इलामको पशुपतिनगरमा १५ हेक्टर जमिन २०६१ सालमा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाएको बेला अतिक्रमणमा पर्यो। इलामकै मानेभञ्ज्याङमा ज्ञानेन्द्रकै प्रत्यक्ष शासनकालमा २०६२ सालमा ४ हेक्टर जमिन अतिक्रमित भयो।
यो क्रम यहीँ रोकिएन। ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा २०६० सालमा पाँचथर च्याङथापुमा ४१०० हेक्टर जमिन अतिक्रमणमा पर्यो। २०६१ मै कैलाली लालबोझी कौवाखेडी क्षेत्रमा २१२ हेक्टर जमिन अतिक्रमणमा पर्यो भने त्यसै वर्ष कैलाली भजनी क्षेत्रमा ३९ हेक्टर जमिन अतिक्रमण भयो। ज्ञानेन्द्रकै शासनकालमा २०६० सालमा बारा कटिहरिया क्षेत्रमा ३० हेक्टर जमिन अतिक्रमण गरियो।
राजा–महाराजाहरूले देश जोगाउने, देशको माटो बचाउने भए किन जोगाएनन्, किन बचाएनन् देशको यति ठूलो भूगोल परायाहरूको खेलमैदान बन्नबाट?
देशभित्रका असहमत आवाज दमन गर्न फौज परिचालन गर्ने शासकले किन परिचालन गरेनन् देशको माटो जोगाउन फौज?
संवैधानिकै भए पनि राजा राखेर देशको माटो जोगिने भए किन लुटियो संवैधानिक राजतन्त्रकालमा देशको विभिन्न स्थानका यी क्षेत्रहरू —
२०४७ सालमा पर्सा मितेरी पुल प्रेओ टोलको ५ हेक्टर जमिन अतिक्रमणमा परेको थियो। त्यसपछि २०४८ मा कञ्चनपुर ब्रह्मदेव बजार पश्चिमको २२२ हेक्टर जमिन अतिक्रमणमा पर्यो भने २०४९ सालमा पर्सा र्सिसियानाला छेउको १० हेक्टर जमिन अतिक्रमणमा पर्यो।
यही क्रममा २०५१ सालमा झापाको भद्रपुर गलगलिया नजिक २७ हेक्टर जमिन भारतले अतिक्रमण गर्यो। २०५६ मा पर्सा इनर्वा चमारटोलको ६ हेक्टर जमिन अतिक्रमणमा पर्यो।
त्यस्तै, २०५६ मा रूपन्देही अजमा बस्ती नजिक ५० हेक्टर जमिन अतिक्रमण भयो। कैलालीको फूलबारी क्षेत्रमा ५ हेक्टर जमिन २०५७ मा अतिक्रमण गरियो। २०५६ सालमै मोरङको रानी जोगबनी क्षेत्रमा ७ हेक्टर जमिन अतिक्रमण भयो भने २०५७ मा झापा महेशपुर डोल गाउँको १० हेक्टर जमिन अतिक्रमण भयो।
२०५८ मा कञ्चनपुर शुक्लाफाँटा वन्यजन्तु आरक्ष नजिकको ३३० हेक्टर जमिन, बाँके होलियाको ४२ हेक्टर र महोत्तरी सिसवकटैयाको ९ हेक्टर जमिन भारतीय अतिक्रमणमा पर्यो।
देशका यी यावत माटो भारतीय अतिक्रमणमा परेको पूरै समयकाल, चाहे त्यो सक्रिय राजतन्त्रकाल होस् या संवैधानिक भनिएको तर उनीहरूले चाहेको बखत सत्ता हत्याउन सक्ने अवस्था रहेको समयमा होस्; राजाहरू सेनाका परमाधिपति थिए। उनको परिवारका सदस्यहरू जन्मँदै सेनाका विभिन्न ओहोदाले सुशोभित हुन्थे। सेना राजाको अधिनस्थ रहन्थ्यो। महाराजाधिराजको आदेशबेगर सेना परिचालन हुँदैनथ्यो। मन्त्रिपरिषद र संसदले परिचालनको निर्णय गरे पनि राजाको स्वीकृति चाहिन्थ्यो।
त्यस्तो समय नेपालका कुन राजाले कहाँको कति अतिक्रमित भूमि फिर्ता ल्याउन सेना परिचालन गरे? के राजतन्त्र हुँदैमा देशको माटो जोगिने रहेछ त, चाहे त्यो संवैधानिक राजतन्त्र होस् या निरंकुश राजतन्त्र?
पोस्टमर्टम
अढाई सय वर्षदेखि शासन गरेका भनिए पनि खासमा खाँणबाट साही, साह हुँदै शाह भएका ज्ञानेन्द्रका पितापुर्खाले नेपाली समाजमा शासनाभोग गरेको ७०० वर्षभन्दा बढी भयो। लसर्घा, खिर्लुङ, पश्चिम नवकोट, कास्की, लमजुङ, लिगलिग, गोर्खाकोट हुँदै नारायणहिटीसम्मको हिसाब गर्दा समयकाल योभन्दा लामो हुन्छ।
कास्कीकोटबाट लमजुङमा यशोब्रह्म साही आएकै ५०० वर्ष भयो। लिगलिगमा द्रव्य साहीले षड्यन्त्रपूर्वक दौडमा सामेल घलेहरू काटेर पगडी गुथेकै ४५० वर्षभन्दा बढी भयो। झन्डै ७०० वर्ष सत्ताभोग गर्दा तिनले शासन गरेको न त खिर्लुङ न त कास्की, न त गोरखा न त सिंगो देश कतैका पनि जनताको जीवन अन्यत्रको भन्दा उज्यालो बनेन।
द्रव्य शाहपछिका नवौं पुस्ताका पृथ्वीनारायणको पालामा आइपुग्दासम्म गोर्खा राज्य मौजुद अन्य बाइसी, चौबिसी राज्यको तुलनामा सबभन्दा निर्धो र गरिब राज्य थियो।
पृथ्वीनारायणपछि १० पुस्ता (दीपेन्द्र पनि जोड्दा ११) शासन गरेर नेपाली जनताको बलिदानीपूर्ण जनसंघर्षको परिणाममा सत्ताच्यूत हुँदासम्म नेपाललाई संसारको सबभन्दा दरिद्र र निर्धो राज्यको हैसियतमा राखेर विदा भएका थिए, ज्ञानेन्द्र। सात सय वर्षदेखि शासन गरेर आफू र आफ्नो मण्डलीलाई सबभन्दा धनाढ्य बनाउने र नेपाली समाजलाई संसारको सबभन्दा निर्धो, दरिद्र र हिनतर बनाउने साही खलकका बचेखुचेका अवशेष र तिनका आसेपासे चाकरीदारहरूले २० वर्षमै आफूलाई संकटमोचक र गणतन्त्रलाई समस्याका रूपमा पेस गर्नु हास्यास्पद र लज्जास्पद छ।
देश र जनतालाई संसारकै सबभन्दा दरिद्र र दयनीय अवस्थामा राखेर फलाकिएका जाली राष्ट्रवादी गानहरूले मात्र देश बलियो हुन्छ?
'प्रजा मोटा भया दरबार बलियो रहन्छ' भन्ने पृथ्वीनारायणको नाममा जारी अर्तीलाई पृथ्वीनारायणका कुन कुन दरसन्तानले कार्यान्वयन गरे र जनता बलियो बनाउने यत्न गरे?
पृथ्वीनारायणपछिका यो देशका युगनायकका रूपमा प्रचारित महेन्द्र नै होइनन् यो देश र जनता विभाजित गर्ने? देशको अतिक्रमित माटो अरूलाई सुम्पने या अतिक्रमण सहन गर्ने र त्यसको बदलामा जनतालाई निरंकुशताको बुटमुनि कुल्चने?
देशको पहिलो जननिर्वाचित प्रधानमन्त्रीलाई बिनाअभियोग, बिनाअभियोजन, बिनाकानुनी या अदालती प्रक्रिया सैनिक बलको भरमा वर्षौं जेलमा कोच्ने महेन्द्रले देशको भूगोल अतिक्रमण गर्नेविरूद्ध फौज परिचालन गरे? उनको नक्कली राष्ट्रवादको जाली तमासा यहीँनेर उदांगो हुन्छ।
हिजोको भोगसयलको झुसिले डकारले प्रताडित भएर राजा आए फेरि पनि अमनचयन प्राप्त गर्न सकिन्थ्यो भनेर सकसक लाग्नु र त्यही सकसकलाई यथार्थमा बदल्न अनेकन पाल्सी भाष्यहरूको जोरजाम गर्नुपर्ने दुःख बुझिन्छ नै। अन्यथा, तथ्यहरूको जगमा उभिएर हेर्दा राजा–महाराजाले देश जोगाउने भाष्य तथ्यहीन, जाली र धोकापूर्ण देखिन्छ।
जोगाउँछ देश कसैले भने शासकहरूले आफ्नो भोगविलास अकन्टक राख्न अराष्ट्रिय तत्व भनिएका जनताले जोगाउँछन्। सत्तामा बसेर देशको भूगोल विदेशीले कब्जा गर्दा पनि नागरिकले तिरेको तिरोमा भोगविलास गरेर जाली कविता बेची बस्नेहरू अराष्ट्रिय तत्व कि शासकको त्यो विद्रूप यथार्थको भण्डाफोर गर्नेहरू अराष्ट्रिय?
आजको दिनको नेपाली समाज उखेलिएको सत्ता व्यवस्थाले वितरण गरेको भाष्यको टाट्नोमा बाँधिएर लतारिन विवश छैन। नेपाली समाजको बदलिँदो उत्पादन प्रणाली र त्यसले पैदा गरेको सामाजिक अन्तरविरोधको उत्कर्षमा सत्ताच्यूत गरिएका पात्र र तिनका भजन मण्डलीले सान्दर्भिकता गुमाइसकेका राजा–महाराजाहरूको पुनरूत्थानको दिवास्वप्नले ग्रसित भएर 'आउटडेटेड' भाष्यले अब पनि नेपाली समाजलाई भ्रमित बनाउँछु भन्ने दुस्साहस गर्नु बेकार छ।
माथि नै भनिसकियो आजको दिनमा देश कुनै राजा–महाराजाले जोगाइदिन्छ भन्ने नै झूटो हो। देशका भूगोलहरू सामान्यतया अन्तर्राष्ट्रिय मान्यताहरूबाट ठोस गरिएका छन्। यसलाई तलबितल गर्न खोज्नासाथ त्यो अतिक्रमण र आक्रमणको रूपमा विश्व समुदायले लिन्छ। असामान्य अवस्थामा चीनले तिब्बत लिएजसरी या भारतले सिक्किम लिएजसरी या रूसले युक्रेनमाथि हमला गरेजसरी हमला भयो भने ज्ञानेन्द्रले यो देश जोगाउने सामर्थ्य राख्छन्?
अतिक्रमण भएको भूमि जोगाउन नसक्ने राजा–महाराजाहरूले यो देश जोगाइदिन्छन्? यथार्थ त के हो भने यिनै अवसरवादी र आत्मसुरक्षावादीका दरसन्तानहरू सबभन्दा पहिले देश छाडेर भाग्छन्।
जनता जागेर आन्दोलनको आँधी उमारेपछि आफ्नो सत्ता जोगाइ माग्न भारतसँग ज्ञानेन्द्रले हारगुहार गरे। त्यसपछि भारतले पटक पटक आन्दोलनकारी नेतृत्वसँग ज्ञानेन्द्रको वंशवादी व्यवस्था जोगाउन आफ्ना विशेष दूतहरू पठायो। श्याम शरणदेखि करण सिंहसम्म ज्ञानेन्द्रको वंशवादी व्यवस्था जोगाउने गुहार सुन्न भारतीय विशेष दूतका रूपमा काठमाडौं यात्रामा ओर्लिए।
ज्ञानेन्द्रलाई गुहार दिन जनताको आन्दोलनको लय बदल्ने गरी हस्तक्षेप गर्न आएका ती भारतीय विशेष दूतहरू जागृत जनताले बन्द कोठामा गरिएका मन्त्रणा खारेज गर्दै आन्दोलनको आँधी कम नगराएपछि फर्किएका होइनन्?
यसरी आफ्नो वंशवादी व्यवस्था जोगाउन गुहार लगाउनेहरूले देश जोगाउने? देशमा विदेशी हस्तक्षेप रोक्ने?
सारा अवस्थाहरूमा दरिद्रताले डसे पनि नेपाली समाजको चेतना पञ्चायतको जडौरी भाष्य च्यात्ने स्तरमा भने उठिसकेको छ। राजा–महाराजाहरूले देश जोगाइदिने पाल्सी भाष्यको सिरक ओढेर आफ्नो गुजारा चलाउनुपर्ने चेतनाको दरिद्रता भने आजको नेपाली समाजको मूलधार होइन।
यो पनि पढ्नुहोस्:
***