प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।
मन्त्रिपरिषद हेरफेरको प्रमुख कार्यसूचीका साथ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलको बैठक बिहीबार बस्दैछ।
प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ।
बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन्।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन्।
‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद हेरफेर गर्ने गरी छलफल सत्ता साझेदार दल कांग्रेससँग छलफल गरिरहनुभएको छ,’ बजगाईंले सेतोपाटीसँग भने, ‘कांग्रेस र एमालेबीच आज पनि यसबारे छलफल हुनेछ।’
एमालेका एक नेताले दिएको जानकारी अनुसार कांग्रेस आफ्ना मन्त्रीहरू फेरबदल गर्न इच्छुक छैन। यसअघिका छलफलमा कांग्रेसले तत्परता नदेखाएकैले प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न रोकिएका थिए।
तर सरकार गठनको वर्ष दिन पनि पुगिसकेको र केही मन्त्री विवादमा परेकाले प्रधानमन्त्रीले फेरबदल गर्ने इच्छा राखेको ती नेताले बताए।
‘कार्यसम्पादन कमजोर भएका, विवादमा समेत आएका मन्त्रीहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिऔं भन्ने प्रधानमन्त्रीको तयारी छ। त्यही भएर उहाँले सत्ता साझेदार कांग्रेससँग छलफल अगाडि बढाउनुभएको हो, कांग्रेसको भने यसमा रूचि देखिएको छैन,’ ती नेताले भने।
कांग्रेसभित्र मन्त्रीहरू फेर्ने विषयमा कुनै छलफल नभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘मन्त्रीहरू फेर्ने विषयमा कांग्रेसभित्र कुनै छलफल भएको छैन,’ उनले सेतोपाटीसँग भने।
हालै बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा मन्त्री फेर्ने विषयमा छलफल भएको थिएन।
एमालेका नेताले भने कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री ओलीले आजै निर्णय लिने सम्भावना रहेको बताए।
कांग्रेसले नमानेको खण्डमा एमालेका मात्रै मन्त्री फेरिने सम्भावना रहेको ती नेता बताउँछन्। उनले आजै मन्त्रीहरू हटाएर नयाँ मन्त्री नियुक्त हुने सम्भावनासमेत रहेको बताए।
‘प्रधानमन्त्री आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ। कांग्रेससँगको छलफलपछि निर्णय लिनुहोला,’ ती नेताले भने।
उनका अनुसार एमालेबाट कम्तीमा तीन जना मन्त्री फेरिनेछन्।
रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको ती नेताले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सुरूआती कार्यसम्पादन सन्तोषजनक देखिएको थिएन। त्यसैले उनी पनि फेरिनेको सूचीमा थिए। पछिल्लो समय कामको गति देखिएको भन्दै उनी नहट्ने सम्भावना बढेको एमालेका नेता बताउँछन्।
भूमि व्यवस्था मन्त्री पछिल्लो समय घूस काण्डको विवादमा आएका छन्। उद्योग मन्त्री भण्डारीको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन्। रक्षामन्त्री राईलाई पनि प्रधानमन्त्रीले हटाउन चाहेको ती नेताको भनाइ छ।
अधिकारी र भण्डारी एमाले–माओवादी गठबन्धनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि थिए। प्रचण्ड नेतृत्वको सरकारमा पाँच महिना मन्त्री भएका उनीहरूलाई अघिल्लो असार ३० गते ओलीको नेतृत्वमा सरकार गठन भएपछि पनि निरन्तरता दिइएको थियो।
रक्षामन्त्री राई भने पहिलो पटक मन्त्री बनेका हुन्।
मौजुदा मन्त्री परिषदमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री सहभागी छन्। त्यसमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने गत असार ३१ गते मन्त्री भएकी हुन्। एमाले सांसद राजकुमार गुप्ताले घूस काण्डमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका थिए। रिक्त पदमा न्यौपाने मन्त्री नियुक्त भएकी हुन्।
एमालेकै सांसद रघुजी पन्त गत वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए। गत वैशाख ८ गते एमाले सांसद विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएपछि पन्त मन्त्री भएका थिए।
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पनि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ फेरिने सूचीमा छैनन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन खोजिरहँदा उनीहरू अध्यक्ष ओलीको कित्तामा बलियोसँग उभिन पुगेका छन्। त्यसकारण पनि ओलीले अर्थमन्त्री पौडेल र सञ्चारमन्त्री गुरूङलाई फेर्न चाहेका छैनन्।
नयाँ मन्त्रीको प्राथमिकतामा एमालेले दुई पटक सांसद जितेर पनि अवसर नपाएको र क्षेत्रीय सन्तुलनलाई राखेको अर्का नेताले बताए। एमालेमा दुई पटक सांसद जिते पनि अवसर नपाएको झापा–४ का सांसद एलपी सावाँ लिम्बूको नाम चर्चामा छ।
उनी २०७४ र २०७९ सालमा प्रतिनिधि सभा निर्वाचित भए पनि मन्त्री बनेका छैनन्।
त्यस्तै रूपन्देही–१ बाट निर्वाचित छविलाल विश्वकर्माको पनि नाम चर्चामा छ। उनको नाम यसअघि पनि चर्चामा थियो। तर अन्तिममा मन्त्री बन्न पाएका थिएनन्।
त्यस्तै नयाँ मन्त्रीको सूचीमा सूर्य थापा, जुलीकुमारी महतोको नाम पनि चर्चामा छ। थापा पहिलो पटक प्यूठानबाट निर्वाचित सांसद हुन्। महतो यसअघि मन्त्री भइसकेकी छन्।