अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी साउन १५ गते दशरथ रंगशालामा फिफा फुटबल फर स्कुल्स कार्यक्रमको औपचारिक सुरु गर्ने भएको छ।
फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
यो कार्यक्रम देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा सञ्चालन हुनेछ। यसका लागि एन्फाले फिफाबाट प्राप्त ३२,६४० वटा एडिडास ब्रान्डका फुटबल वितरण गर्नेछ। एन्फा महासचिव किरण राईका अनुसार यी फुटबलको मूल्य प्रतिगोटा कम्तीमा ५,००० रुपैयाँ पर्छ। साथै, फिफाले कार्यक्रम सञ्चालनका लागि ५०,००० अमेरिकी डलर बजेट उपलब्ध गराएको छ।
कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखेको छ।
फिफा फर स्कूल्स कार्यक्रमका म्यानेजर एन्टेनियो सान्चेज कार्यक्रमको सुभारम्भ गर्न नेपाल आएका छन्। उनले यो कार्यक्रमले बालबालिकालाई भविष्यमा नैतिकवान र जिम्मेवार व्यक्ति बनाउन सहयोग गर्ने बताए।
एन्फाले सुरुमा कार्यक्रमका लागि जिल्लास्तरका प्रशिक्षकलाई तालिम प्रदान गर्नेछ। जिल्ला प्रशिक्षकले विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण दिनेछन् र ती शिक्षकले बालबालिकालाई फुटबलसहितका सीप सिकाउनेछन्। विद्यालयका शिक्षकले वर्षभरि नै यो तालिमलाई निरन्तरता दिन सक्नेछन्।
कार्यक्रममा सहभागी हुन एन्फाले विद्यालयहरूसँग आवेदन माग गरेको थियो। केही जिल्लाबाट आवेदन नआएपछि एन्फाले पहल गरी विद्यालयहरू छनोट गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालित यो कार्यक्रमले नेपालको विद्यालय शिक्षामा फुटबललाई समावेश गरी बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो समावेशी र पहुँचयोग्य कार्यक्रमले सबै वर्ग, जाति र भूगोलका बालबालिकालाई फुटबलमार्फत रमाइलो र व्यवहारिक सिकाइ प्रदान गर्नेछ।