इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले पहिलो पटक पुरुष बालन डि’ओर वर्षको उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् ।
क्लब र देशका लागि गत सिजन एक खेल मात्रै हारेका २८ वर्षीय रोड्रीले गत जुलाईमा स्पेनलाई युरो २०२४ जित्न उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले सिटीबाट प्रिमियर लिग, युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेका थिए।
सिटीका लागि बालन डि’ओर जित्ने पहिलो खेलाडी रोड्रिले रियल म्याड्रिड र ब्राजिलका विंगर भिनिसियस जुनियरलाई पछि पार्दै अवार्ड जितेका छन् ।
रियल म्याड्रिडका मिडफिल्डर बेलिङघम तेस्रो भए।
रियल म्याड्रिडले वर्षको उत्कृष्ट क्लबको अवार्ड जित्यो र प्रशिक्षक कार्लो एन्सेलोटीले वर्षको पुरुष प्रशिक्षकको अवार्ड जितेका थिए। तर पुरस्कार लिन क्लबबाट कोही पनि उपस्थित थिएनन्।
भिनिसियसले बालन डि’ओर जित्न नसक्ने खबर आएपछि रियल म्याड्रिडले सो समारोह बहिष्कार गरेको सोमबार नै सार्वजनिक भएको थियो।
गत सेप्टेम्बरमा एसीएलमा चोट लागेका रोड्री बैसाखीमा स्टेजमा आएका थिए। अवार्डपछि उनले भने, ‘मेरो, मेरो परिवार र मेरो देशको लागि धेरै विशेष दिन। आज मेरो लागि विजय होइन, यो स्पेनिस फुटबलको लागि हो, धेरै खेलाडीको लागि हो जसले जित्न सकेनन्।’
फिफा पुरुषको विश्व वरीयतामा शीर्ष सय देशहरू मध्ये प्रत्येक देशका पत्रकारहरूको निर्णायक मण्डलद्वारा विजेता छनोट गरिएको थियो।
सन् २००३ पछि पहिलो पटक आठ पटकका विजेता लियोनल मेस्सी र पाँच पटकका विजेता क्रिस्टियानो रोनाल्डो प्रारम्भिक सूचीमा थिएनन्।
सन् २०२३ मा म्यानचेस्टर सिटीलाई ट्रेबल जिताउन मद्दत गरेका रोड्री गत वर्षको बालन डि’ओरमा पाँचौं स्थानमा रहेका थिए।
अवार्डका उत्कृष्ट दश
रोड्री (स्पेन र म्यानचेस्टर सिटी)
भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)
जुड बेलिङघम (इंग्ल्याण्ड र रियल म्याड्रिड)
ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)
केलियन एमबाप्पे (फ्रान्स र पिएसजी/रियल म्याड्रिड)
लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
लामायल यामल (स्पेन र बार्सिलोना)
टोनी क्रुस (जर्मनी र रियल म्याड्रिड)
ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)
विजेताहरु
बालन डी'ओर पुरुष : रोड्री
बालन डी'ओर महिला : आइटाना बोनमाटी
कोपा ट्रफी: लामाइन यमल
वर्षको पुरुष प्रशिक्षक: कार्लो एन्सेलोटी
वर्षको महिला प्रशिक्षक: एम्मा हेस
याशिन ट्रफी: एमिलियानो मार्टिनेज
वर्षको पुरुष क्लब: रियल म्याड्रिड
वर्षको उत्कृष्ट महिला क्लब: बार्सिलोना
गर्ड मुलर ट्रफी: ह्यारी केन र केलियन एमबाप्पे