नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता खेल्ने भएका छन्।
किरण एनएसएल टिम धनगढी एफसीमा आइकोनिक प्लेयरको रुपमा आबद्ध भएका छन्।
सिजनमा भारतीय क्लब पञ्जाब एफसीबाट आइ लिग खेलेका किरण थ्री नेसन्स कपका लागि नेपाल फर्किएका थिए। उनको कप्तानीमा नेपालले ३६ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको थियो।
नेपाल आएपछि किरणलाई एनएसएल खेल्नका लागि धनगढीबाहेक अन्य टिमले पनि प्रस्ताव गरेका थिए।
'मलाई धनगढीको प्रस्ताव मन पर्यो। धनगढीमा आबद्ध हुन पाउन सन्तुष्ट छु,' बिहीबार धनगढीको आइकोनिक प्लेयर बनेपछि किरणले भने।
किरणले पाँच बर्षपछि घरेलु फुटबल खेल्न लागेका हुन्। उनले पछिल्लो पटक २०७२ सालमा थ्रीस्टारबाट राष्ट्रिय लिग खेलेका थिए।
त्यसपछि किरण माल्दिभ्सको टीसी स्पोर्ट्समा आबद्ध भएका थिए। उनले २०१७ र २०१८ मा माल्दिभ्सको शीर्ष डिभिजन खेले।
सन् २०१८ मा टीसी स्पोर्ट्सले माल्दिभ्सको शीर्ष डिभिजनको धिवेही प्रिमियर लिग जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। सो सिजन उनी लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए।
त्यहीँ सिजनमा उनी पञ्जाब एफसीमा आबद्ध भएका थिए। सिजनको अन्त्यमा आबद्ध भएका उनले पञ्जाव एफसीबाट आइ लिग उचाल्ने अवसर पाएका थिए।
सन् २०१९-२० र २०२०-२१ को सिजन पनि किरणले पञ्जाबाट खेले। गत महिना सकिएको सिजनको आइलिगमा किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए।
पाँच वर्षको बीचमा उनले माल्दिभ्स र भारतको लिगको उपाधि उचाल्ने अवसर पाए। उनी तीन देशको लिगको उपाधि पहिलो नेपाली खेलाडी हुन्।
आइ लिग तथा नेपाली राष्ट्रिय टिममा गरेको प्रदर्शनको आधारमा उनी एसियाको साताकै उत्कृष्ट खेलाडी समेत चयन भएका थिए।
पाँच वर्षपछि घरेलु प्रतियोगिता खेल्न पाउँदा किरण उत्साहित छन्।
'पाँच वर्षपछि घरेलु प्रतियोगिता खेल्दैछु। त्यसैले ज्यादा नै उत्साहित भइरहेको छु। एनएसएलका लागि तयारी गर्न कम समय पाए पनि राम्रो खेलेर सबै खेल जित्ने प्रत्यन गर्नेछु,' उनले भने।
धनगढीले मुख्य प्रशिक्षकमा युगलकिशोर राईलाई नियुक्त गरेको छ। यसअघि नियुक्त भएका तोपे फुजाले राईलाई प्रशिक्षकको भूमिकामा रहेर सघाउंँनेछन्।
३७ वर्षीय राई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। राष्ट्रिय टिमका पूर्व खेलाडी उनले थ्रीस्टार, एनआरटी, मनाङ मर्स्याङ्दी, आरसिटी र नेपाल पुलिसबाट व्यवसायिक खेल खेलेका थिए।
उनीसँग झापा यू-१८, झापा ११, झापा फुटबल क्लब र बाँसबारी क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव छ।
वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा हुने एनएसएलमा धनगढीसहित सात टिमबीच प्रतिस्पर्धा हुनेछ। धनगढीले आफ्नो पहिलो खेल वैशाख १२ मा विराटनगर सिटी एफसीविरुद्ध खेल्नेछ।