कोरोनाका कारण विश्वकप छनोटका खेल पटक-पटक स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ।
दशरथ रंगशालामा दर्शकसहित हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानको यु२३ टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालको पहिलो खेल भने चैत १२ मा किर्गिस्तानविरुद्ध छ।
प्रतियोगितालाई नेपालले विश्वकप छनोटको तयारीको रुपमा लिएको छ। त्यो भन्दा बढी घरेलु मैदानमा खेल्न पाउँदा नेपाली टिम उत्साहित छ।
यसअघि नेपालले गत मंसिरमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको थियो। ढाकामा भएको पहिलो खेलमा २-० गोलले पराजित भएको नेपालले दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो।
'कोभिडको महामारी भएकाले हामी लामो समयपछि बंगालदेशविरुद्ध मैदान उत्रिएका थियौं। कति खेलाडीले कोभिड र कति खेलाडीले घाइते भएर खेल्न पाएका थिएनौं,' नेपालका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्,'यसपटक हामीले तीन महिना तयारी गरेका छौं। त्यसैले राम्रो खेल्ने हाम्रो लक्ष्य छ। अझ घरेलु मैदानमा खेल्दा हामीलाई फाइदा हुन्छ।'
नेपाली टिमको उपकप्तानको जिम्मेवारी पाएका रोहित चन्द धेरै पछि घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित छन्।
'हामीले घरेलु मैदानमा नखेलेको धेरै भइसकेको छ। मलाई लाग्छ दशरथ रंगशालामा खेल्न सबै खेलाडी उत्साहित छन्,' चन्दले भने।
गत वर्षको मंसिरमा नेपालको यु२३ टिमले दशरथ रंगशालामा १३औं सागमा प्रतिस्पर्धा गरेको थियो। सागको फाइनलमा नेपालले भुटानलाई हराएर स्वर्ण पदक जितेको थियो।
त्यसयता दशरथ रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताका लागि गोलकिपर किरण चेमजोङ सोमबार नेपाल फर्कने एन्फाले जनाएको छ। भारतको आइ-लिग टिम पञ्जाव एफसीमा आबद्ध किरणलाई नेपाली टिमको कप्तानको जिम्मेवारी दिने प्रशिक्षक महर्जनले बताए। आइ-लिग टिम आइजोलमा आबद्ध फरवार्ड अभिषेक रिजाल पनि थ्री नेसन्स कप खेल्न नेपाल फर्किसकेका छन्।
नेपाल आइपुगेका बंगलादेश र किर्गिस्तानका टिमले थ्री नेसन्स कपलाई आगामी प्रतियोगिताको तयारीको रुपमा लिएका छन्।
बंगलादेशका प्रशिक्षक जेम्स डेलेले विश्वकप छनोटका लागि थ्री नेसन्स कपबाट अनुभव बटुल्ने बताए। त्यसका लागि टिममा ६ जना युवा खेलाडीलाई पहिलो पटक स्थान दिएको उनको भनाइ छ।
कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले छोटो तयारी गरेर नेपाल आएको बताए। उनले प्रतियोगिताबाट किर्गिस्तानको युवा टिमलाई अनुभव बटुल्ने अवसर भएको बताए। उनले घरेलु मैदान र दर्शकको फाइदा भएकाले नेपाललाई बलियो टिमको रुपमा चित्रित गरे।
यसअघि एन्फाले प्रतियोगिताको प्रत्येक खेलमा १२ हजार टिकट बिक्रि गर्ने बताएको थियो। रंगशालाको क्षमता १५ हजार भए पनि १२ हजार मात्र टिकट बिक्रि एन्फाको भनाइ थियो।
सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढेकाले भिडभाड नगर्न भनेको छ। त्यसैले एन्फाले रंगशालामा प्रवेश दिइने दर्शक संख्याको विषयमा नयाँ निर्णय गर्ने भएको छ।
'रंगशालामा प्रवेश गर्ने दर्शक संख्या र दर्शकले पालना गर्नु पर्ने नियमको विषयमा आजै निर्णय हुन्छ,' उनले भने।
साधारण प्यारापिटतर्फको १० हजार पाँच सय र भिआइपीतर्फ १ हजार ५ सय टिकट बिक्रि गरिने तीन दिन अघि एन्फाले बताएको थियो। जसमा साधारणतर्फको टिकट मुल्य ७ सय रुपैयाँ र भिआइपीतर्फको टिकट मुल्य १५ सय रुपैयाँ तोकिएको छ।
प्रतियोगिताका खेल तालिका
चैत १० गते - किर्गिस्तान भर्सेस बंगलादेश - अपरान्ह ५:३० - दशरथ रंगशाला
चैत १२ गते - नेपाल भर्सेस किर्गिस्तान - अपरान्ह ५:३० - दशरथ रंगशाला
चैत १४ गते - नेपाल भर्सेस बंगलादेश - अपरान्ह ५:३० - दशरथ रंगशाला
चैत १६ गते - फाइनल - अपरान्ह ५:३० - दशरथ रंगशाला