चौदण्डीगढी नगरपालिका उदयपुरले महिला राष्ट्रिय लिगमा लगातार एघारौं खेलमा हार बेहोरेको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चौदण्डीगढीलाई चन्द्रपुर नगरपालिका रौतहटले २-१ गोलले पराजित गरेको हो।
पहिलो हाफको इन्जुरी टाइममा चन्द्रपुरले रजनी थोकरको गोलबाट अग्रता लियो।
खेलको ६७ मिनेटमा दिलकुमारी रानामगरले चन्द्रपुरको अग्रता दोब्बर पारिन्।
चौदण्डीगढीका लागि मनिता तामाङले ६८ मिनेटमा गोल फर्काइन्।
जारी लिगमा चौदण्डीगढीले ९६ गोल खादा ४ गोल गरेको छ।
यता चन्द्रपुरले तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ। ११-११ खेल खेलिसकेका दुवै टिमले अब अन्तिम खेल खेल्न बाँकी छ।
चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले आफ्नो टिमले राम्रो खेलेको बताए। लिगमा छैटौं हुने पक्का भएको चन्द्रपुरका लागि हार र जितले कुनै फरक नपारेको उनको भनाइ थियो।
चौदण्डीगढीका प्रशिक्षक दिपक थापाले टिमको खेलमा सुधार आए पनि अंक जोड्न नसकेकोमा दु:ख व्यक्त गरे।