इंग्लिस क्लब टोटेनहम छाड्ने घोषणा गरेका दक्षिण कोरियन स्टार खेलाडी सन ह्युङ-मिन लगभग २० मिलियन पाउन्डमा अमेरिकी क्लब लस एन्जलस एफसी जाने भएका छन्।
फरवार्ड सनले शनिबार एक पत्रकार सम्मेलनमा आफूले क्लबमा १० वर्ष बिताएपछि यो सिजनदेखि टोटेनहम छोड्ने बताएका थिए।
३३ वर्षीय सन अब मेजर लिग सकरमा सामेल हुन तयार देखिएका छन्। यो सम्झौता कीर्तिमानी रकममा हुन सक्ने अनुमान छ।
जसले एटलान्टा युनाइटेडले इमानुएल लाथलाई तिरेको २२.५ मिलियन पाउन्डको कीर्तिमानलाई पनि तोड्न सक्छ।
अन्तिम विवरणबारे छलफल जारी रहे पनि कागजी प्रक्रिया र मेडिकल परीक्षण पूरा भएपछि उनी लस एन्जलस जाने लगभग पक्का मानिएको छ।
सन् २०२६ सम्म टोटेनहममा अनुबन्धमा रहेका सनले आइतबार सियोलमा न्यूक्यासलविरुद्ध १-१ को बराबरीमा सकिएको प्रि-सिजन मैत्रीपूर्ण खेलमा टोटेनहमका लागि आफ्नो अन्तिम खेल खेलेका थिए।
खेलको ६५ औं मिनेटमा उनी सब्सिच्युट भएपछि उनका टिमका साथीहरू र विपक्षी न्यूक्यासलका खेलाडीहरूले उनलाई अँगालो हालेर सम्मानमा 'गार्ड अफ अनर' दिएका थिए।
सन् २०१५ मा जर्मन क्लब बायर लेभरकुसेनबाट टोटेनहम आएका सनले क्लबका लागि ४५४ खेलमा १७३ गोल गरेका छन्। उनकै कप्तानीमा गत मे महिनामा टोटेनहमले युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै १७ वर्षमा पहिलो उपाधि जितेको थियो।