महिला राष्ट्रिय लिगमा एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' ले एकै खेलमा ८ गोल गरेकी छिन्।
सोमबार चौदण्डीगढी नगरपालिका उदयपुरविरुद्धको खेलमा एपिएफले १४-० को जित हात पारेको खेलमा साम्बाले ८ गोल गरेकी हुन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफका लागि अनिता केसी र अनिता बस्नेतले २-२ गोल गरे। अनु लामा र रुबिना घलेले १-१ गो थपे।
जारी लिगमा एपिएफको यो लगातार सातौं जित हो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले २१ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १५ अंक रहेको छ।
पहिलो लेगमा एपिएफले चौदण्डीगढीलाई २२-० गोलले पराजित गरेको थियो। सो खेलमा साम्बा एक्लैले १२ गोल गरेकी थिइन्।
अंक तालिकाको पुछारमा रहेर अंकबिहीन बनेको चौदण्डीगढीले जारी लिगमा लगातार सातौं खेलमा हार बेहोर्यो।