'इटालियन सिरि ए' मा एसी मिलानले शीर्ष स्थानमा तीन अंक अग्रता लिएको छ।
सोमबार भएको खेलमा एसी मिलानले काग्लिआरीलाई २-० गोलले पराजित गरेको छ।
मिलानको जितमा दुवै गोल ज्लाटन इभ्राहिमोभिचले गरे। उनले खेलको सातौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे।
पहिलो हाफमा १-० ले अघि रहेको मिलानका लागि इभ्राहिमोभिचले ५२ मिनेटमा अग्रता दोब्बर पारे। उनले कालाब्रियाको पासमा गोल गरेका थिए।
खेलको ७४ मिनेटमा एसी मिलान १० खेलाडीमा सीमित बन्यो। मिलानका साइलेमाइकर्स दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
अंक तालिकामा शीर्ष स्थानमा रहेको एसी मिलानको १८ खेलबाट ४३ अंक भएको छ।
दोस्रो स्थानको इन्टर मिलानको ४० अंक छ भने नेपोली १७ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा छ।
रोमा १८ खेलबाट ३४ अंक जोड्दै चौथो र युभेन्ट्स १७ खेलबाट ३२ अंक जोडेर पाँचौ स्थानमा छन्।