अखिल नेपाल फुटबल संघ (एन्फा) मा आर्थिक अनियमितता भएको आशंकामा विश्व फुटबलको सर्वोच्च संस्था फिफाका प्रतिनिधि काठमाडौं आएका छन्।
एन्फाको आर्थिक कारोबारको छानबिन गर्नका लागि फिफाका प्रतिनिधि बुधबार काठमाडौं आएका हुन्।
फिफाका लागि काम गर्ने क्रोलका प्रतिनिधि काठमाडौं आएका हुन्। अमेरिकाको न्युयोर्क मुख्य कार्यालय रहेको क्रोल कर्पोरेट अनुसन्धान गर्ने फर्म हो। फिफाले आर्थिक अनुसन्धान गर्नका लागि क्रोलको सहायता लिँदै आएको छ।
क्रोलका प्रतिनिधिले शुक्रबार एन्फा कार्यालय एन्फामा गएर सोधपुछ गरेको एन्फाका एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार फिफाका प्रतिनिधि आकस्मिकरुपमा काठमाडौं आएका हुन्।
अनुसन्धान गर्नका लागि क्रोलका एक महिला र एक पुरुष प्रतिनिधि काठमाडौं आएका छन्। उनीहरु दुवै जना भारतीय भएको ती केन्द्रीय सदस्यले बताए। यस्तै काठमाडौंमा रहेका क्रोलका एक प्रतिनिधि पनि अनुसन्धानमा संलग्न छन्।
फिफा फरवार्ड कार्यक्रमअन्तर्गत एन्फालाई प्राप्त भएको ३ लाख २५ हजार अमेरिकी डलर अनियमितता भएको भन्दै उजुरी परेपछि फिफाले क्रोलका प्रतिनिधिलाई अनुसन्धान गर्न नेपाल पठाएको बताइएको छ।
फिफा फरवार्ड कार्यक्रमको रकम सातदोबाटोस्थित एन्फाको केन्द्रीय कार्यालय र होस्टल पुनर्निर्माण गर्न खर्च गरिएको थियो।
फिफाको नियमअनुसार ३ लाख डलर भन्दा माथिको कार्यक्रमका लागि टेन्डर आह्वान गर्नुपर्छ। तर एन्फाले टेन्डर आह्वान नगरी निर्माण कम्पनीसँग कोटेसन मागेर पुनर्निर्माण कार्य गरेको थियो।
यही विषयमा क्रोलका प्रतिनिधिले छानविन गर्नेछन्। उनीहरुले नियमअनुसार रकम खर्च भए-नभएको विषयमा अनुसन्धान गर्नेछन्।
यो बाहेक क्रोलका प्रतिनिधिले एन्फामा भर्ना गरिएका नयाँ कर्मचारीको विषयमा पनि छानविन गर्नेछ।
क्रोलले छानविन गरेपछि प्रतिवेदन बनाएर फिफालाई बुझाउनेछ। प्रतिवेदनमा आर्थिक अनियमितता देखिएको अवस्थामा फिफाले कारबाही गर्न सक्नेछ।