इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिन्सन काभानीले तीन खेलको प्रतिबन्ध र एक लाख पाउण्ड जरीवाना तिर्नुपर्ने भएको छ।
काभानीले सामाजिक सन्जाल इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको विषयलाई अध्ययन गर्दै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले १ महिनापछि तीन खेलको प्रतिबन्धसँगै १ लाख पाउन्ड जरिवाना सुनाइएको हो।
उनको त्यो पोस्टलाई अपमानजनक, अनुचित वा खेल बदनाममा ल्याइएको ठानिएको छ। इंग्लिस फुटबल गभर्निङ बडीले पनि उनको त्यो टिप्पणी जातीय विभेदको हुने खालको रहेको दाबी गरेको बिबिसीले जनाएको छ।
एफएले जारी गरेको विज्ञप्ति अनुसार उनले एफएको ई ३३ अन्तरगतको नियम उल्लंघन गरेको आरोप लगाइएको छ।
नियमअनुसार उनले ६ भन्दा बढी खेलको प्रतिबन्ध खेप्नुपर्ने भए पनि उनले तत्कालै पोस्ट हटाएर आफ्नो गल्ती स्वीकार गरेकाले प्रतिबन्ध केही कम भएको एफएले जनाएको छ।
नोभेम्वर २९ मा साउथह्याम्टनमाथि ३–२ को पूनरागमन जित निकालेको खेलमा काभानीले दुई गोल गरेका थिए। त्यसपछि उनले इन्स्टाग्राममा जातीय विभेद ल्याउने खालको पोस्ट गरेका थिए। लगत्तै उनले आफनो पोस्ट हटाएका थिए।
यो सँगै ३३ वर्षिय उरुग्वेली काभानीले प्रिमियर लिगको एस्टन भिल्ला, वाट्फोर्ड र कारावाओ कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने भएका छन्।
काभानी यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा युनाइटेडमा अनुबन्ध भएका थिए।