उरुग्वेका स्ट्राइकर डार्विन नुनेजले इंग्लिस क्लब लिभरपुल छाडेका छन्। उनले शनिबार साउदी अरबको प्रो लिग क्लब अल-हिलालसँग तीन वर्षको सम्झौता गरेका छन्।
साउदी प्रो लिगको क्लबले २६ वर्षीय नुनेजलाई ५ करोड ३० लाख युरोमा किनेको हो।
नुनेज पोर्चुगलको क्लब बेन्फिकाबाट सन् २०२२ को जुनमा लिभरपुल आएका थिए।
उनले लिभरपुलका लागि १४३ खेलमा ४० गोल गरे। गत सिजन क्लबले प्रिमियर लिग जित्दा उनले जम्मा ८ खेलमा मात्र पहिलो रोजाइमा खेले।
नुनेजको अहिलेको ट्रान्सफर शुल्क पहिलेभन्दा निकै कम छ। सन् २०२२ मा उनलाई किन्न लिभरपुलले विभिन्न शर्तहरू सहित ८ करोड ५० लाख पाउन्डसम्म तिर्न तयार भएको थियो। तर, ती सबै शर्तहरू पूरा भएनन्।
त्यतिबेलाका प्रशिक्षक योर्गेन क्लोपले नुनेज 'सुधारको क्रममा रहेका खेलाडी' भएको र यो कुरा क्लब र समर्थकले बुझ्नुपर्ने बताएका थिए। यसको प्रमाण उनको सुरुवाती खेलहरूमा पनि देखियो, जहाँ उनले लगातार गोल गरे तर घरेलु मैदानको पहिलो खेलमै टाउकोले हानेका कारण रातो कार्ड पाएका थिए।
खेलको अन्तिम समयमा गोल गरेर नुनेजले समर्थकको मन जितेका थिए, तर उनको प्रदर्शनमा एकरूपता थिएन। त्यहिँ कारण उनी क्लबको पहिलो रोजाइमा परेनन्। यसरी पहिलो रोजाइमा खेल्न नपाएपछि उनी साउदी गएका हुन्।
उनले गत सिजन लिगमा जम्मा ८ खेलमा मात्र सुरुदेखि खेल्न पाए र ५ गोल मात्र गरे। पछिल्लो तीन सिजनमा लिभरपुलका अन्य फरवार्डहरूको तुलनामा उनको 'सट कन्भर्सन रेट' (प्रहारलाई गोलमा बदल्ने दर) सबैभन्दा कम (११.१%) छ। प्रिमियर लिगमा 'ठूला मौका' पाउने १० खेलाडीमध्ये उनले सबैभन्दा कम मौकालाई गोलमा बदलेका छन्।