स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीले भविष्यमा अमेरिकामा पनि फुटबल खेल्न पाउने आसा व्यक्त गरेका छन्।
तर आफ्नो खेल करिअरको गन्तव्य भने निश्चित नभएको मेसीको भनाइ छ।
आगामी जुनमा बार्सिलोना र मेसीबीचको सम्झौता समाप्त हुँदैछ।
३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसी जनावारीदेखि नयाँ क्लबमा जानका लागि स्वतन्त्र हुनेछन्।
गत अगस्टमा मेसीले क्लब छाड्न चाहेपछि उनको भविष्यको विषयमा संसारभर चासो छ।
'अन्य क्लबमा जाने विषयमा अझैं सोचिसकेको छैन,' मेसीले स्पेनिस टेलिभिजन ला सेक्टासँगको कुराकानीमा भनेका छन्।
'यो सिजनको अन्त्यसम्म कुर्नेछु। म अमेरिकामा पनि खेल्न चाहान्छु। त्यहाँको खेल जीवनको पनि अनुभव गर्न चाहान्छु। तर अहिले स्पेनिस लिग जारी छ। त्यसैले लिगमा राम्रो प्रदर्शन गर्न जरुरी छ। उपाधि जित्नु छ। अन्य कुरामा लाग्ने बेला छैन।'
बार्सिलोनाले गत सिजन कुनै पनि उपाधि जित्न सकेको थिएन। जारी सिजनको ला लिगामा पनि बार्सिलोनाले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।
जारी सिजनमा बार्सिलोना पाँचौ स्थानमा छ। बार्सिलोनाको यो ३३ वर्ष यताकै खराब प्रदर्शन हो।
१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेसीले क्लबका लागि दर्जनौ रेकर्ड बनाउनुका साथै दर्जनौ उपाधि जितेका छन्।
बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेसीले १० पटक ला लिगा, चार पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचाल्नुका साथै छ पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन्।
गत सिजन मेसीले बार्सिलोना छाड्न चाहेपछि तत्कालिन अध्यक्ष जोसेप मारिया बार्तोमेउसँग सम्बन्ध चिसिएको थियो। जोसेपले गत अक्टोबरले राजीनामा दिएका थिए।