इंग्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ गोलले पराजित गरेको हो।
खेलको ३४ मिनेटमा आर्सनलले अग्रता लियो। आर्सनलका लागि एलेक्जेन्डर लेकाजेटले पेनाल्टीमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए।
४४ मिनेटमा आर्सनलका लागि ग्रेनिट जाकाले दोस्रो गोल गरेका थिए।
५६ मिनेटमा आर्सनलले तेस्रो गोल गर्दै खेलमा पकड जमायो। आर्सनलका लागि बुकायो साकाले तेस्रो गोल गरे।
चेल्सीका अब्राहमले ८५ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
लिगमा आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा छ। सातौं स्थानमा झरेको चेल्सीले १५ खेलबाट २५ अंक जोडेको छ।
यता म्यानचेस्टर सिटीले न्युकासललाई २-० गोलले पराजित गर्यो। सिटीको जितमा इल्के गुन्डोआन १४ मिनेट र फेरन टोरेसले ५५ मिनेटमा गोल गरेका थिए।
अन्य खेलमा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदा एभर्टनले सेफिल्ड युनाइटेडलाई १-० गोलले पराजित गरेको छ।
अंक तालिकामा एभर्टन १५ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक छ।
लेस्टर १५ खेलबाट २८ अंक जोडेर तेस्रो तथा म्यानचेस्टर युनाइटेड १४ खेलबाट २७ अंक जोड्दै चौथो स्थानमा छन्। लेस्टर र म्यानचेस्टर युनाइटेडबीच शनिबार साँझ भएको खेल २-२ गोलको बराबरीमा रोकिएको थियो।
म्यानचेस्टर सिटी १४ खेलबाट २६ अंक जोडेर पाँचौ, एस्टन भिल्ला १३ खेलबाट २५ अंक बटुल्दै छैटौं र चेल्सी १५ खेलबाट २५ अंक नै जोड्दै सातौं स्थानमा छन्।