इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लेस्टर सिटी र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन्।
शनिबार साँझ सकिएको खेलमा लेस्टरले दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टसँग अंक खोस्न सफल भयो।
खेलको २३ मिनेटमा रास्फोडको गोलबाट म्यानचेस्टरले अग्रता लिएको थियो। रास्फोडलाई गोल गर्न ब्रुनो फर्नान्डेजले पास उपलब्ध गराएका थिए।
३१ मिनेटमा लेस्टरका बार्नेसले बराबरी गोल फर्काउन सफल भए। उनले माडिसनको पासमा गोल गरेका थिए।
खेलको ७९ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै म्यानचेस्टरलाई २-१ ले अघि बढाए। उनले इडिन्सन काभानीको पासमा गोल गर्न सफल भए।
म्यानचेस्टरको अग्रता ६ मिनेट मात्र टिक्यो। ८५ मिनेटमा लेस्टर सिटीका फरवार्ड जिमी भार्डीको प्रहार म्यानचेस्टरका डिफेन्डर एलेक्सको खुट्टामा लागेर गोलपोस्ट भित्र छिरेको थियो।
जितसँगै म्यानचेस्टरले ११ औं अवे खेल पराजित भोगेको छ। यसअघि उसले लगातार १० अवे खेलमा जित निकालेको थियो।
बराबरीपछि म्यानचेस्टरले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका पनि गुमायो। म्यानचेस्टर १४ खेलबाट २७ अंक जोड्दै तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको लेस्टरको १५ खेलबाट २८ अंक भएको छ।
१४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ।