अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग आगामी चैत १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।
गत वर्ष कोरोनाका कारण हुन नसकेको लिग एन्फाले यस वर्ष गर्न लागेको हो।
सी डिभिजन क्लबका प्रतिनिधिहरूसँग बिहीबार भएको छलफलपछि आगामी चैत १ देखि लिग सञ्चालन गर्ने निर्णय गरिएको हो।
एन्फाले सी डिभिजन क्लबलाई तयारीका लागि प्रदान गर्दै आएको रकम पनि बढाउने भएको छ।
अब सी डिभिजन लिगमा सहभागी हुने क्लबले ९ लाख रुपैयाँ पाउने भएका छन्। यसअघि क्लबले ७ लाख रुपैयाँ पाउने गर्थे।
यस्तै रेलिगेनशन नगरेर अन्तिमका टोलीको अंक घटाउने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा फिफा र एएफसीको स्वास्थ्य तथा प्रशिक्षण प्रोटोकलको विषयमा पनि जानकारी दिइएको थियो।
एन्फाले हिजो बुधबार कोरोनाका कारण स्थगित भएको बी डिभिजन लिग सुचारु गर्ने निर्णय गरेको थियो।
एन्फाले आगामी फागुन ११ देखि बी डिभिजन लिग गर्ने निर्णय गरेको थियो।