अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण गत वर्ष रोकिएको बी डिभिजन लिग दुई महिनापछि पुन: संचालन गर्ने प्रस्ताव गरेको छ।
एन्फाले आगामी २३ फेब्रुअरीदेखि रोकिएको बी डिभिजन सञ्चालन गर्ने विषयमा छलफल गरेको हो।
गत १८ मार्चमा कोरोनाका कारण बी डिभिजन लिग स्थगित भएको थियो।
रोकिएको लिग पुन: सञ्चालन गर्ने विषयमा एन्फाले बी डिभिजन क्लबका प्रतिनिधिसँग बुधबार छलफल गरेको छ।
लिग गर्ने विषयमा सबै पक्ष एकमत भए पनि आर्थिक पक्ष र स्वास्थ्यको विषयमा प्रश्न उठेको थियो।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा महासचिव इन्द्रमान तुलाधरले क्लबका प्रतिनिधिले उठाएको प्रश्नको उत्तर दिएका थिए।
लिग फेरि संचालन गर्ने विषयमा अर्को बैठकमा छलफल गर्न एन्फा र क्लबहरु सहमत भएका छन्।
बैठकमा फिफाले तयार गरेको स्वास्थ्य र प्रशिक्षण प्रोटोकलको विषयमा पनि क्लबहरुलाई जानकारी दिइएको थियो।