स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले ब्राजिलका महान् खेलाडी पेलेको रेकर्ड तोडेका छन्।
मेसीले ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै पेलेको रेकर्ड तोडेका हुन्।
खेलमा बार्सिलोना ३-० ले विजयी भयो। मेसीले ६५ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए।
गत शनिबार मेसीले एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका थिए।
गत शनिबार बार्सिलोनाका लागि करियरको ६४३औं गोल गर्दै मेसीले उक्त कीर्तिमान बराबरी गरेका थिए।
मंगलबार गोल गरेसँगै मेसीले करिअरको ६४४औं गोल गरे र पेलेको कीर्तिमानलाई पछि पारे।
पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए।
सन् २००४ मा डेब्यू गरेयता पुरै करिअर बार्सिलोनामा बिताएका मेसीले १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन्।
उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन्।