युरोपियन च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ। मंगलबार राति भएको समूह 'बी' को खेलमा रियललाई युक्रेनको शख्तर डोनेट्क्सले २-० गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा शख्तरका लागि डेन्टिन्होले ५७ मिनेटमा पहिलो गोल गरेका थिए।
८२ मिनेटमा सोलोमोनले शख्तरको अग्रता दोब्बर पारेका थिए।
अघिल्लो खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको थियो। मंगलबार भने इन्टर मिलानले जित निकालेको छ।
इन्टर मिलानले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखमाथि ३-२ को जित निकालेको हो।
समूहमा अन्तिम खेलअघि बोरुसिया मुन्छेनग्लाडबाखले शीर्ष स्थानमा रहँदै ८ अंक जोडेको छ।
दोस्रो स्थानको शख्तर र तेस्रो स्थानको रियलको समान ७-७ अंक छ। चौथो स्थानको इन्टरको भने ५ अंक रहेको छ। जसका कारण अन्तिम खेलअघि चारै टिमको नकआउट चरणमा पुग्ने सम्भावना छ।
यता समूह 'ए' को खेलमा साविक विजेता जर्मन क्लब वायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १-१ गोलको बराबरी खेलेर अंक बाडेका छन्।
यहि समूहको अर्को खेलमा अस्ट्रियन क्लब साल्जवर्गले रसियन क्लब लोकोमोटिभ मस्कोलाई ३-१ ले पराजित गरेको छ।
यसअघि नै अन्तिम १६ मा पुगेको अंक तालिकाको शीर्ष स्थानमा रहेको वायर्नको १३ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६ अंक छ। साल्जवर्गको ४ र मस्कोको ३ अंक छ।