स्पेनिस ला लिगाको साविक विजेता रियल म्याड्रिड सिजनको नवौं खेलमा पराजित भएको छ।
म्याड्रिड शनिबार भएको खेलमा अलाभेससँग २-१ गोलले पराजित भएको हो।
खेलको पाँचौ मिनेटमा परेजको पेनाल्टी गोलमार्फत अलाभेसले अग्रता लियो। ४९ मिनेटमा जोसेलुले अलाभेसको अग्रता दोब्बर पारे।
८६ मिनेटमा कासेमिरोले रियलका लागि गोल फर्काए। तर त्यसपछि कुनै गोल हुन नसक्दा उनको गोल सान्त्वनामै सीमित बन्यो।
खेलमा रियलका इडिन हजार्ड घाइते भए। जारी सिजनमा तेस्रो खेलमा पहिलो रोजाइमा खेलेका उनी अलाभेसविरुद्धको खेलमा घाइते हुँदा २८ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए।
सन् २०१९ मा चेल्सीबाट रियल गएका उनी लगातार घाइते हुँदा २९ खेल मात्र खेलेका छन्।
यता शनिबारको अन्य खेलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सिया र सेभियाले हेउस्कालाई समान १-० गोलले पराजित गरेका छन्।
ला लिगाको अंक तालिकामा १० खेलबाट २३ अंक जोड्दै रियल सोसिडाड शीर्ष स्थानमा छ। दोस्र स्थानको एट्लेटिकोको ९ खेलबाट २३ अंक नै छ।
भिल्लारियल १० खेलबाट १९ अंक जोडेर तेस्रो र रियल म्याड्रिड १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ। सेभिया भने ९ खेलबाट १६ अंक बटुलेर पाँचौ स्थानमा छ।