ललितपुर जिल्ला फुटबल संघले सोमबार आफ्ना अध्यक्ष पुरुषोत्तम थापामाथिको कारबाही फिर्ताको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र पठायो।
ललितपुरको कार्यसमिति बैठकले एन्फाले आफ्ना अध्यक्षलाई विधान विपरित निलम्बन गरेको भन्दै विभिन्न निकायमा पत्रचार गरिने अवगत गराउँदै एन्फालाई पत्र लेखेको थियो।
पत्रमा भनिएको थियो,'एन्फाको विधान विपरितको कार्यका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्णय भएको हुँदा कारबाही गर्ने निर्णयलाई फिर्ता लिनका लागि हार्दिक अनुरोध गर्दछु।' पत्र ललितपुरका महासचिव शिशिरविक्रम हमालले पठाएका थिए।
यसअघि एन्फाले गत जेठ ५ गते थापालाई एन्फाको विधान विपरितका गतिविधि गरेको भन्दै आगामी साधारणसम्मका लागि निलम्बन गरेको थियो। थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएपछि विवाद सुरु भएको थियो।
कारबाही फिर्ता माग गर्दै ललितपुरले पत्र पठाएको अर्को दिन मंगलबार एन्फाले भने कार्यबहाक अध्यक्ष तोक्न भन्दै पत्र पठाएको छ।
पत्रमा गत जेठ ११ गतेको मिति भए पनि ललितपुर एन्फालाई भने सोमबार अबेर राति मात्र पत्र प्राप्त भएको छ। अहिले एन्फाले सबै पत्रहरु इमेलबाट पठाउने गरेको छ। तर आइतबार मिति राखिएको पत्र सोमबार सवा १० बजे मात्र 'सेन्ड' गरिएको छ।
महासचिव शिशिरविक्रम हमालको नाममा पठाइएको पत्रमा पुरुषोत्तम थापालाई अध्यक्षबाट हटाइएको अवगत गराइएको छ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले पठाएको पत्रमा आगामी एन्फा कंग्रेससम्मका लागि थापालाई निलम्बन गरिएको उल्लेख गर्दै कार्यसमिति बैठकबाट कार्यबहाक अध्यक्ष तोकेर एन्फामा पठाउन भनिएको छ।
यसअघि थापाले आफूलाई विधानविपरिक कारबाही गरेको भन्दै एन्फाको अपिल कमिटी, राष्ट्रिय खेलकुद परिषद्, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा उजुरी दर्ता गराइसकेका छन्। उनले फिफा र एएफसीमा आइतबार इमेल पठाएका थिए भने राष्ट्रिय खेलकुद परिषद् र अपिल कमिटीमा सोमबार उजुरी दर्ता गराएका थिए।
ललितपुर अध्यक्ष थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएका थिए। एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले ए, बी र सी डिभिजन क्लबहरुको भाइबर ग्रुपमा एन्फा दिवसको शुभकामना दिएकोमा उनले असन्तुष्टि जनाउँदै 'आज एन्फा दिवस होइन। चोरहरूको श्री गणेश डे हो।' भनेका थिए।
एन्फा दिवसमा आफ्नो असन्तुष्टि पोखेका ललितपुरका अध्यक्ष थापालाई एन्फाले वैशाख २४ गते लिखित स्पष्टिकरण पेश गर्न भन्दै पत्र काटेको थियो। थापाले भाइबरमा गरेको टिप्पणी सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। एन्फाले थापालाई कानुनविपरितको कार्य गरेको भन्दै ४८ घन्टाभित्र स्पष्टिकरण पेश गर्न भनेको थियो।
थापाले दुई दिनपछि स्पष्टिकरण पेश गरेका थिए। उनले एन्फा दिवसलाई आफूले भावानात्मक रुपमा आफ्नो मान्न नसकिएकोले 'चोरहरुको दिवस' भन्दै बाध्य भएको ब्यहोरा लेखेर स्पष्टिकरण पेश गरेका थिए।
उनले आफूले कसैलाई इङ्गित नगरेको भन्दै माफी समेत मागेका थिए।
तर एन्फाले उनले पठाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेको हो।
सम्बन्धित समाचारहरू :-
'ग्रुप च्याट' मा आक्रोशित जवाफ फर्काउने एन्फा ललितपुर अध्यक्ष निलम्बित
एन्फा दिवसलाई 'चोरहरूको श्री गणेश डे' भनेपछि...