फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो होम खेल आगामी मंसिर ३ गते खेल्ने तय छ। कुवेतविरूद्धको खेल दशरथ रंगशालामा हुने तय भएको हो।
तर दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन। खेलाडीका लागि चाहिने चेन्जिङ रूम अहिलेसम्म पूर्ण तयार भइसकेको छैन। खेल आउन १४ दिन बाँकी रहेको अवस्थामा चेन्जिङ रूम फिनिसिङ हुने चरणमा छ। मैदान पनि तयार हुने अन्तिम चरणमा छ।
भिआइपी प्याराफिटमा अझै छानो हालिएको छैन। छानोका लागि हालिने १९ वटा पिल्लरमध्ये अहिलेसम्म एउटा मात्र ठड्याइएको छ।
चीनमा तयार भएर यहाँ जडान गरिने प्याराफिट अझै नेपाल ल्याइएको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एयर कार्गो गरेर प्याराफिट ल्याउने प्रयास गरिरहेको छ।
खेलअघि रंगशालाको निरीक्षण गर्न गोप्य रूपमा एसियाली फुटबल महासंघ (एएफसी) बाट प्रतिनिधि काठमाडौं आएका छन्। एएफसीका प्रतिनिधिले मंगलबार दशरथ रंगशालाको निरीक्षण गरे।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको सुपरीवेक्षण गरेको पुष्टि गरे पनि थप खुलाउन चाहेनन्।
'एएफसीका प्रतिनिधिले आज दशरथ रंगशालाको निरीक्षण गरेका छन्। उनले एएफसीको प्रतियोगिता समितिलाई रिपोर्ट बुझाउनेछन्,' तुलाधरले सेतोपाटीलाई भने।
एएफसीका निरीक्षकसँगै रंगशाला गएका राखेपका एक पदाधिकारीले भने निरीक्षक रंगशालाको स्थिति देखेर असन्तुष्ट भएको सेतोपाटीलाई बताए।
निरीक्षकले चेन्जिङ रूमको स्थितिमा असन्तुष्टि पोखेका थिए। साथै उनले बन्दै गरेको भिआइपी प्याराफिटका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विषयमा प्रश्न गरेका थिए।
यो निरीक्षणमा असन्तुष्ट भएको एएफसीले एक सातापछि फेरि निरीक्षक पठाउन सक्नेछ। त्यतिबेला पनि रंगशाला पूर्ण रूपमा तयार नभएमा नेपालमा हुने कुवेतविरूद्धको खेल कुनै 'न्युट्रल भेन्यू' मा खेलाइनेछ।
नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ। दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो।
नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।