सन् २०१४ अक्टोबर १४ मा नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गर्दा अञ्जन बिष्ट १६ वर्षका थिए। कतारको राजधानी दोहामा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमको जर्सी लगाएर पहिलो पटक मैदान छिर्दा अञ्जनले अनुभवी डिफेन्डर सन्दीप राईलाई प्रतिस्थापन गरेका थिए।
त्यसयता उनले नेपाली टिमका लागि २९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए। क्लब फुटबलमा चलेका मिडफिल्डरमा पर्ने अञ्जनको लागि राष्ट्रिय टिममा स्थान पक्का हुने गरे पनि पहिलो रोजाइ पर्न संघर्ष गरिरहनु परेको थियो।
विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोटअन्तर्गत कुवेतसँगको पहिलो खेलमा पनि अञ्जनले सब्सिच्युट खेलाडीको रूपमा मात्र मौका पाए। कुवेत सिटीमा भएको खेलमा विमल घर्तीमगरको स्थानमा ८२ मिनेटमा अञ्जन मैदान छिर्दा नेपालले ५ गोल खाइसकेको थियो। त्यसपछि नेपालले थप २ गोल खादा ७–० को पीडादायी हार खेप्न बाध्य भयो।
कुवेतसँग ७ गोल खाएको पाँच दिनपछि नेपालले छनोटको दोस्रो खेलमा मंगलबार चाइनिज ताइपेईविरुद्ध उसैको मैदानमा खेल्नु चुनौतीपूर्ण थियो। अघिल्लो हारको पीडा भुलाउन नेपालका लागि जितको विकल्प थिएन।
त्यसैले खेलका लागि प्रशिक्षक योहान कालिनले महत्वपूर्ण परिवर्तनको रूपमा मिडफिल्डर विक्रम लामाको स्थानमा अञ्जनलाई पहिलो रोजाइमा मौका दिए। घाइते भएका अजित भण्डारीको स्थानमा दिनेश राजवंशी र सुमन अर्यालको सट्टा रञ्जित धिमाललाई अवसर दिइएको थियो।
तीन परिवर्तनमा अञ्जन प्रभावकारी सावित भए। उनले टिमका लागि चौथो मिनेटमै गोल गर्न सफल भए। यो गोल नेपालले एक वर्षको अवधिमा गरेको दोस्रो गोल थियो। त्यसअघि गत जुनमा चाइनिज ताइपेईविरुद्ध नै अभिषेक रिजालले मात्र नेपालका लागि एक वर्षको अवधिमा गोल गर्न सकेका थिए।
अञ्जनले डेब्यू गरेको पाँच वर्षपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरे। उनले पाँच वर्षमा २९ खेलमा खेल्दा नेपालका लागि गोल गर्न सकेका थिएनन्।
ताइपेईविरुद्ध अञ्जनले ६४ मिनेटमा दोस्रो गोल गरे। डिबक्स भित्रबाट उनले गरेको गोल आकर्षक थियो। सो गोलसँगै नेपाल जिततर्फ अघि बढेको थियो।
अन्तत: नेपालले सन् २०११ पछि विश्वकप छनोटमा पहिलो जित हात पार्न सफल भयो।
नेपालले एक वर्षको अवधिमा हात पारेको यो पहिलो जित हो। साफ च्याम्पियनसिपअन्तर्गत गत वर्ष सेप्टेम्बर ८ मा बंगलादेशलाई २–० ले हराएर सेमिफाइनल पुगे यता नेपाल लगातार ९ खेल जितविहीन बनेको थियो। जसमध्ये ८ खेल आधाकारिक अन्तर्राष्ट्रिय खेल थिए भने एक खेल मलेसियाको लिग च्याम्पियनविरुद्धको थियो।
ताइपेईलाई हराएसँगै नेपालले एक वर्षको अवधिमा १० खेल खेल्दा १ जित, २ बराबरी र ७ खेलमा हार बेहोर्यो। नेपालले एक वर्षमा केवल ३ गोल गर्यो भने १९ गोल खायो।
यता प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले पहिलो जित हात पारेको हो। उनको नेतृत्वमा नेपालले जित पार्न सातौं खेल कुर्नुपर्यो। उनले गत मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपाली टिममा प्रशिक्षकको रुपमा डेब्यू गरेका थिए।
ताइपेईविरुद्ध हात पारेको जितसँगै नेपालले समूह 'बी' मा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ। यस्तै अवे खेलमा हात पारेको जितले नेपाललाई राहत समेत मिलेको छ। अब नेपालले एक महिनापछि दुई वटा अवे खेल खेल्दैछ। नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध उनीहरुकै घरेलु मैदानमा खेल्नेछ।
एक वर्षमा नेपालको खेल
१० सेप्टेम्बर २०१९ : चाइनिज ताइपेई ० – २ नेपाल : विश्वकप छनोट
५ सेप्टेम्बर २०१९ : कुवेत ७ – ० नेपाल : विश्वकप छनोट
२६ अगस्ट २०१९ : जोहर दारुल ता'जिम एफसी १ – ० नेपाल : मैत्रीपूर्ण खेल
६ जुन २०१९ : चाइनिज ताइपेई १ – १ नेपाल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
२ जुन २०१९ : मलेसिया २– ० नेपाल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
२५ मार्च २०१९ : कुवेत १ –० नेपाल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
२१ मार्च २०१९ : कुवेत ० –० नेपाल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
६ अक्टोबर २०१८ : प्लेस्टाइन १ – ० नेपाल : बंगबन्धु गोल्डकप
२ अक्टोबर २०१८ : ताजकिस्तान २ – ० नेपाल : बंगबन्धु गोल्डकप
१२ सेप्टेम्बर २०१८ : माल्दिभ्स ३ : ० नेपाल : साफ च्याम्पियनसिप
८ सेप्टेम्बर २०१८ : बंगलादेश ० – २ नेपाल : साफ च्याम्पियनसिप
६ सेप्टेम्बर २०१८ : भुटान ० – ४ नेपाल : साफ च्याम्पियनसिप
४ सेप्टेम्बर २०१८ : पाकिस्तान २ – १ नेपाल : साफ च्याम्पियनसिप
विश्वकप छनोटमा नेपाल : ३० खेलमा १०० गोल खाँदा २२ हार
विश्वकप छनोटमा पाँचौ तथा पहिलो अवे जित
चाइनिज तपाइपेईविरुद्धको जित नेपालले विश्वकप छनोटमा हात पारेको पाँचौ जित हो भने पहिलो अवे जित हो।
यसअघिका चार जित नेपालले घरेलु तथा तटस्थ मैदानमा हात पारेको थियो।
नेपालले विश्वकप छनोटमा इस्ट टिमोर र मकाउलाई २–२ पटक हराएको थियो।
२००२ विश्वकपका लागि २००१ को मार्चमा भएको छनोटमा नेपालले माउकविरुद्ध दुवै लेगमा जित हात पारेको थियो।
६ अप्रिल २००१ मा इराकको बगदादमा भएको खेलमा नेपालले मकाउलाई ४-१ गोलले पराजित गरेको थियो। यो नै नेपालले विश्वकप छनोटमा हात पारेको पहिलो जित हो। मकाउविरुद्धको दोस्रो खेलमा पनि नेपालले ६-१ को जित हात पार्यो। नेपालका लागि निराजन रायमाझीले ह्याट्रिक गरेका थिए। उनी विश्वकप छनोटमा नेपालका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्।
२०१४ को विश्वकपका लागि नेपालले इस्ट टिमोरसँग पहिलो चरणको छनोट खेलेको थियो। सन् २०११ जुनमा भएको छनोटका दुवै खेल काठमाडौंको दशरथ रंगशालामा भएको थियो।
नेपालले पहिलो खेलमा २-१ र दोस्रो खेलमा भने नेपालले ५-० को जित हात पार्यो। नेपाल समग्रमा ७-१ को नतिजासहित पहिलो पटक दोस्रो चरणमा पुगेको थियो।