कहिलेकाहीँ एक गोल पनि ठूलो कुरा हुन्छ।
नेपालका लागि त झनै ठूलो हुने भइहाल्यो, जसले नौ महिनादेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा एक गोल पनि गर्न सकेको थिएन।
गोलको खडेरीमा रिमझिम मनसुन बर्सियो, गत जेठ २३ गते।
ताइपेईलाई उसैको घरेलु मैदानमा एक गोल ठोक्न सफल नेपाली टिमले भलै खेल जित्न सकेन, शून्य गोलको रेकर्ड भने तोड्यो।
फिफा वरियतामा आफूभन्दा ३६ स्थान माथिको ताइपेईसँग एक-एक गोलको बराबरी खेल्नु नेपाली टिमको पछिल्लो उपलब्धि हो। यसको श्रेय जान्छ मिडफिल्डरलाई, जसमा रोहित चन्द र युवा खेलाडी रविशंकर पासवानको खेल सम्झनलायक थियो।
यो खेल क्रममा प्रत्येक खेलाडीको गतिमापन गर्दा रोहित सबभन्दा बढी कुदेका थिए। उनलाई पछ्याउँदै २२ वर्षीय मिडफिल्डर रवि दोस्रो स्थानमा रहे।
मैदानको दायाँतिरबाट तीव्र गतिमा बल कुदाउने रविको शैलीले दर्शक मात्र होइन, प्रशिक्षकको पनि मन जितेको थियो। त्यही भएर टिममा अरू पुराना खेलाडी हुँदाहुँदै रवि लगातार प्रशिक्षकको रोजाइमा परे।
अहिलेसम्म चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका रवि आफ्नो फुटबल करिअरको 'टर्निङ प्वाइन्ट' मा छन्।
उनले गत चैत ७ गते कुवेतविरुद्ध राष्ट्रिय टिममा 'डेब्यू' गरेका हुन्। खेलको ६१ मिनेटमा उनी सुमन लामाको ठाउँमा मैदान छिरेका थिए।
‘पहिलोपटक राष्ट्रिय टिममा खेल्दा खुसी लागेको थियो, सँगसँगै डर पनि। बिग्रिने पो हो कि, सोचेजस्तो खेल्न नसक्ने पो हो कि भन्ने लाग्थ्यो,’ रविले राष्ट्रिय जर्सीमा मैदान छिर्दाको क्षण सम्झिए।
उक्त खेल गोलरहित बराबरीमा सकियो।
पाँच दिनपछि कुवेतविरुद्धकै दोस्रो मैत्रीपूर्ण खेलमा पनि उनले दोस्रो हाफमा सुमन लामाकै ठाउँ लिए।
यी दुवै खेलमा आधा-आधा समय खेल्न पाएका रवि गत महिना मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा भने पहिलो रोजाइमै परे। सुरूआतदेखि नै खेल्न पाउँदा पहिलोपटक राष्ट्रिय टिममा परेजत्तिकै खुसी लागेको उनी बताउँछन्।
'मलाई त्यति विश्वास गरेर टिमको पहिलो रोजाइमा छानियो, तर शतप्रतिशत खेल्न सक्दिनँ कि भन्ने डर थियो,' उनले भने।
उनको यो डर मैदानमा भने देखिएन।
उनले अघिल्ला दुई प्रतियोगिताभन्दा बढी फुर्ति देखाए, भलै खेल नेपालको पक्षमा आउन सकेन। नेपाल शून्यविरूद्ध चार गोलले पराजित भयो।
त्यसको एक सातापछि नै आफूभन्दा बलियो ताइपेईसँगको मैत्रीपूर्ण खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो, जसमा रविको भूमिका महत्वपूर्ण थियो।
‘राष्ट्रिय टिमबाट सुरुआती तीन खेल राम्रो खेल्न सकिनँ,’ उनी भन्छन्, ‘ताइपेईविरुद्ध भने राम्रो खेलेँ। रोहित दाइपछि बढी कुद्नै मैं हो।’
यो खेलपछि हौसिएका रविले राष्ट्रिय टिममा लामो यात्राको सपना देखेका छन्।
बाराको विकट बस्ती उमजन गाउँमा हुर्किएका रविको सानैदेखि फुटबलर बन्ने सपना थियो। ‘पत्रिकामा भरत खवास र जुमानु राईका ठूल्ठूला फोटा देख्दा एकदिन म पनि त्यस्तै फुटबलर बन्छु भन्ने लाग्थ्यो,’ रविले पुराना दिन सम्झिए।
मान्छेले सपना देख्नुपर्छ, पखेटा आफैं पलाउँछ।
रविसँग पनि इच्छा त थियो, तर त्योभन्दा बढी अभाव र समस्याले उनी थिचिएका थिए। प्लास्टिक र मोजाको बल बनाएर खाली खुट्टा खेल्थे। हावा भरेको फुटबल कस्तो हुन्छ भन्ने अनुभवै थिएन। फुटबल बुटको सोलमुनि गट्टी हुन्छ भन्ने हेक्कै थिएन।
यति हुँदाहुँदै उनले आफ्नो सपना मर्न दिएनन्।
जहाँ जहाँ फुटबल प्रतियोगिता हुन्थ्यो, उनी सिनियरहरूको पछाडि लागेर पुगिहाल्थे। त्यहाँ उनको एउटै काम हुन्थ्यो, मैदानबाहिर हुत्तिएको बल फिर्ता ल्याएर दिने।
'यसरी दिनहुँ बल ल्याइदिएपछि एकदिन टिमबाट कसो नखेलाउलान् भन्ने लाग्थ्यो,' उनी भन्छन्।
यो कुरा एकदिन घरसम्म पुग्यो। कसैले 'पढाइलेखाइ छाडेर छोरा बिग्रियो' भन्दै बाबुका कान भरे। कतिपयले उनको खुबीको तारिफ पनि गरे।
रविका बुबा रामलखन पासवान आफैं फुटबलका पारखी थिए। खेलेर छोरा बिग्रिन्छ भन्ने त उनलाई एकमन पनि लागेन। खेलको तारिफ सुनेर भने उत्साहित भए। खुराक र प्रशिक्षण पाए छोराले अझ राम्रो खेल्न सक्छ भन्ने उनलाई आस जाग्यो।
रामलखनले छोरालाई बिहान-बेलुकै दूध र चना खुवाउन थाले।
भर्खर उड्न खोजिरहेका रविले परिवारबाटै यत्रो आडभर पाएपछि हिम्मत अझ बढ्यो।
उनी जिल्लाभरका प्रतियोगिता धाउन थाले। यस क्रममा ‘बी’ डिभिजन लिग खेलिसकेका कृष्णमणि चौधरीले उनलाई विभिन्न ठाउँमा खेल्ने व्यवस्था मिलाइदिए।
२०७० सालको जिल्ला लिगमा गाउँकै सनराइज युवा क्लबबाट खेल्दै उनले छ गोल गरे। उनको खेल कौशल देखेर सिमरा गोल्डकपको आयोजक नव जनजागृति क्लबले खेल्ने प्रस्ताव गर्यो।
यो उनको खेल जीवनको पहिलो 'टर्निङ प्वाइन्ट' हो।
सिमरामा उनले सोचेजस्तो मौका पाउन सकेनन्। टिममा सिनियर खेलाडीको बाहुल्य थियो। खेलभरि बेन्चमै थन्किनुपरे पनि उनले धेरै सिक्ने मौका पाए।
जनजागृति क्लबले पोखराको आहा-रारा गोल्डकपमा भाग लियो। त्यहाँ भने उनी टिमको पहिलो रोजाइमै परे। आयोजकविरुद्ध पहिलो खेलमा गोल गरे। ट्राइब्रेकरमा जित निकाल्दै उनको टिम क्वार्टरफाइनलमा पुग्यो।
पुलिसविरुद्ध पराजित भएपछि उनको टिम अन्तिम आठबाट अघि बढ्न सकेन। तै रविको खेल जीवनले नयाँ मोड लियो।
यो उनको जीवनको दोस्रो 'टर्निङ प्वाइन्ट' हो।
आहा-रारा गोल्डकपमा उनको प्रदर्शन मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजुकाजी शाक्यले मन पराए। उनले पोखरामै रविलाई भेटेर बधाइ दिँदै भने, 'अब मनाङबाट खेल्नुपर्छ है।'
रविको मन पुलकित भयो।
एकदिन उनलाई काठमाडौंबाट फोन आयो। मनाङका व्यवस्थापक पेम्बा गुरुङले मासिक १५ हजार रूपैयाँमा रविलाई मनाङबाट खेल्न प्रस्ताव गरे।
'ए' डिभिजन र त्यसमाथि नेपालकै लोकप्रिय क्लबको प्रस्ताव उनले नाइनास्ती गर्ने कुरै थिएन। उनी कलैयाबाट रात्रिबस चढेर काठमाडौं आए।
त्यो उनको पहिलो काठमाडौं यात्रा थियो।
उनले मनाङबाट २०७१ मा राष्ट्रिय लिग खेले। त्यहाँ उनले सोचेजस्तो प्रदर्शन गर्न पाएनन्। मनाङमा राष्ट्रिय टिमका अनुभवी खेलाडीहरूको बाहुल्य थियो। पहिलो रोजाइमा उनीहरू नै पर्थे। रविले भने जहिल्यै अन्तिम ५–१० मिनेट मात्र खेल्न पाउँथे।
यही क्रममा मनाङका फरवार्ड डोडोज घाइते भएपछि बल्ल उनी पहिलो रोजाइमा परे।
झापा-११ विरुद्धको उक्त खेलमा उनले विशाल राईलाई गोल गर्न दुइटा पास मिलाइदिए। मोरङविरुद्धको खेलमा त ह्याट्रिक नै गरे।
मनाङबाट दुई वर्ष खेलेपछि उनलाई नेपाल पुलिस क्लबबाट प्रस्ताव आयो। २०७३ सालमा झापामा भएको सताषी गोल्डकपबाट नेपाल पुलिस क्लबमा 'डेब्यू' गरे। तीन गोल गरेर उच्च गोलकर्ता र उत्कृष्ट फरवार्डको उपाधि पनि जिते।
राष्ट्रिय लिगमा त्यो पहिलो प्रतियोगिता थियो, जसमा उनले पूरा समय खेल्न पाए।
अहिले उनी पुलिस क्लबका महत्वपूर्ण सदस्य छन्। गत वर्ष 'ए' डिभिजन लिगमा उनले पुलिसका लागि चार गोल गरे। पुलिसले जितेका धेरै खेलमा उनी 'म्यान अफ द म्याच' हुने गरेका छन्। चारवटा त मोटरबाइक नै जितिसके।
लिगमा उत्कृष्ट खेलेपछि छ महिनाअघि उनको करिअरमा तेस्रो 'टर्निङ प्वाइन्ट' आयो। उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे।
युवा तथा फिट खेलाडीलाई प्राथमिकता दिने प्रशिक्षक योहान कालिनको नजर रविमाथि थियो। उनी चैतमा कुवेतविरुद्ध घोषणा गरिएको राष्ट्रिय टिममा पर्न सफल भए। त्यो क्षणलाई उनी जिन्दगीकै अविश्मरणीय मान्छन्।
‘कुवेतविरूद्ध घोषणा गरिएको राष्ट्रिय टिमको सूचीमा मिडफिल्डरमा मेरो पनि नाम थियो। सुरूमा त मलाई विश्वासै लागेन। साथीहरूको बधाइ आउन थालेपछि धेरै खुसी भएँ,’ रविले भने।
सूची सार्वजनिक भएपछि उनले सबभन्दा पहिला घरमा फोन गरेर बुबालाई सुनाए।
बुबाको जवाफ थियो, ‘धेरै खुसी हुनु पर्दैन, अझै धेरै मिहिनेत गर्नुपर्छ।’
रविशंकर जिन्दगीको यस्तो मोडमा छन्, जहाँ उनले बुबाको यो भनाइलाई मन्त्र मानेका छन्। भन्छन्, 'मैले लामो यात्रा तय गर्नुछ, अझै धेरै मिहिनेत गर्नुछ।'