वीरगन्जमा पहिलो अन्तर्राष्ट्रिय भेट्रान्स, ८ साइड, डे–नाइट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
बिहीबार, शुक्रबार र शनिबार आयोजना हुने ‘वीरगन्ज जे ८९ भेट्रान्स फुटबल’ मा नेपाल र भारतका टिमहरु सरिक हुनेछन्। यहाँस्थित पत्रकार महासंघको सभाकक्षमा मंगलबार आयोजक भेट्रान्स सिटी क्लब, वीरगन्जले जानकारी गराएको हो।
अनुभवी खेलाडीहरुको निरन्तरतासहित दक्ष खेलाडी उत्पादन र सामुदायिक विकासको अवधारणासहित यो क्लबको स्थापना भएको अध्यक्ष सविन बस्नेतले बताए। बस्नेतका अनुसार क्लबले पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा नेपाल र भारतका एघार वटा टिम सहाभागी हुनेछन्। भारतबाट सिलिगुडी भेट्रान्स बंगाल, मुंगेर भेट्रान्स विहारलगायतका टिम आउँदैछन्।
त्यसैगरि नेपालका अभिषेक चर्च रजहर नवलपरासी, बिर्तामोड भेट्रान्स झापा, कैलाली भेट्रान्स, चितवन भेट्रान्स, हेटौंडा भेट्रान्स, सिमरा भेट्रान्स, युवा स्पोर्टस क्लब वीरगन्ज, बगरभाइ खलक भेट्रान्स पोखरा र आयोजक स्वयं भेट्रान्स सिटी क्लब वीरगन्जसमेत सरिक हुनेछन्।
प्रतियोगितामा बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ। त्यसैगरि उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्।
समग्रमा ७ लाख रुपैयाको लागतमा प्रतियोगिता आयोजना हुन लागेको हो।
आफ्नो जवान हुँदा राष्ट्र र समाजका लागि समर्पित भइ खेलेका खेलाडीहरुले उमेर ढल्कँदा पनि अनुभव समाजका निम्ति उपयोगी हुन सकोस् र स्वास्थ्य पनि राम्रो राख्न सकियोस् भनेर ‘भेट्रान क्लब’ स्थापना गरेकामा अब आएर अन्तर्राष्ट्रिय स्तरको ‘भेट्रान प्रतियोगीता’ पनि आयोजना गरेको जानकारी क्लबका महासचिव विनोद परियारले दिए।
वीरगन्जको उन्नतीमा स्वस्थ्य वयस्कहरुको योगदान समेत जोडियोस् भन्ने उद्देश्यका साथ यस किसिमको प्रतियोगीता आयोजना गरिएको समेत परियारले बताए।