मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्री स्टार क्लबले वर्षको पहिलो उपाधि जितेको छ।
थ्री स्टारले सोमबार मनाङलाई १–० गोलअन्तरले हराउँदै वर्षको पहिलो ठूलो प्रतियोगिता माइभ्याली गोल्डकप उपाधि उचालेको हो।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको समयमा सुनिल वलले गरेको निर्णायक गोलले थ्री स्टारले उपाधि जितेको हो।
थ्रीस्टार माइभ्याली गोल्डकपको पहिलो संस्करणको उप–विजेता थियो।
माइभ्याली फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताका विजेता थ्री स्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेता मनाङले ४ लाख रूपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता थियो। भारतको दुर्गापुर स्टिलक्लब, सिक्किम युनाईटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी, झापा ११, कास्की ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गरेका थिए।
२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कारको प्रतियोगिता हो।
विधागत तर्फका सबै पुरस्कार थ्री स्टारका खेलाडीले हात पारे। उनीहरुले समान जनही १५ हजार नगद पाए।
- उत्कृष्ट गोलकिपर- एलन न्यौपाने (थ्रीस्टार)
- उत्कृष्ट डिफेन्डर- पिटर सेगुन (थ्रीस्टार)
- उत्कृष्ट मिडफिल्डर - सुनिल वल (थ्रीस्टार)
- वेष्ट फरवार्ड- अजयी मार्टिन (थ्रीस्टार)
- उत्कृष्ट प्रशिक्षक मेघराज केसी (थ्रीस्टार )
- उदयीमान खेलाडी -दर्शन गुरुङ (म्याइ भ्याली फुटबल क्लब)