डेढ वर्ष पछि फुटबल खेलमा फर्किएको थ्री–स्टार क्लबले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै विराट गोल्डकप २०७४ को उपाधि जितेको छ।
थ्री स्टारले आर्मीलाई ३-० ले हराउँदै सोमबार विराटनगरको सहिद रंगशालामा भएको पाँचौ संस्करणको विराट गोल्ड कपको उपाधि रक्षा गरेको हो।
उसका लागि बिमल घर्तिमगरले २ तथा अनन्त तामाङले १ गोल गरे।
आर्मीलाई यो सिजनको पाँचौ उपाधि जिताउने क्रममा खेलको ५६औं मिनेटमा थ्रीस्टारमा अनन्त तामाङले गोल गर्दै खेलमा ग्रता दिलाएका थिए।
यस्तै खेलको ७६ औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै खेलमा अग्रता दोब्बर पारे। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
यस्तै खेलको ८९ औं मिनेटमा पुनः बिमलले गोल गर्दै खेलमा थ्री स्टारलाई ३-० को स्पष्ट जित दिलाए।
थ्री–स्टार डेढ वर्ष पछि फुटबल प्रतियोगितामा टाढा रहेर तीन महिना अगाडि इटहरीमा सम्पन्न मदन भण्डारी गोल्ड कप प्रतियोगिताबाट फुटबल खेलमा फर्किएको थ्री–स्टारले यो सँगै ५ वटा उपाधीमाथि कब्जा गरेको हो।
आर्मीले विराट गोल्डकपको पहिलो खेलमा अर्को विभागीय टोली साविक विजेता नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा गरेको हो ।
सिजनमा यी दुई टिमबीच विराट गोल्डकपमा चौथो पटक भेट भएको हो। तेस्रो पटक सम्मको स्पर्धामा आर्मी हाबी थियो तर यसपटक थ्री स्टारले बाजी मारेको हो।
इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पनि आर्मी थ्रीस्टारसँग पेलाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित भएको थियो ।
१० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगेको हो।
थ्रीस्टारले योसँगै इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितिसकेको छ ।
प्रतियोगितामा विजेता थ्रिस्टारले १२ लाख ७१ हजार पाएको छ भने उपविजेता भएको आर्मीले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिमा चित्त बुझाएको छ।
म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए। उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिए।
को कुन विधामा उत्कृष्ट
- सर्वोत्कृष्ट खेलाडी-अनन्त तामाङ (थ्रीस्टार)
- उत्कृष्ट प्रशिक्षक- मेघराज केसी (थ्रीस्टार)
- व्यवस्थापक मुकेश नकर्मी (थ्रीस्टार)
- उत्कृष्ट गोलरक्षक -एलन न्यौपाने (थ्रीस्टार)
- उत्कृष्ट मिड फिल्डर - सुनिल बल (थ्रीस्टार)
- सर्वाधिक गोलकर्ता - विमल घर्तीमगर -४ गोल, (थ्रीस्टार)
- उत्कष्ट फरवार्ड- भरत खवास (आर्मी)
- उत्कृष्ट रक्षक -विमल पाण्डे (आर्मी)