पाहुना टोली भारतको सिक्किम युनाईटेडलाई हराउँदै धरान फुटबल क्लब पोखरामा जारी १६ औं संस्करणको आहा-रारा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
बुधबार पोखरा रंगशालामा भएको दोस्रो प्रि–क्वार्टरफाईनलमा धरान फुटबल क्लवले सिक्किम युनाईटेडलाई ३–० को गोल अन्तरले पराजित गरेको हो।
धरानको जितमा रमल लिम्बु, सजन राई र धिरेन लिम्बुले एक/एक गोल गरेका थिए। खेलको ६१ औं मिनेटमा धरानका डिफेन्स खेलाडी रमन लिम्बुले पहिलो गोल गरे। निशान लिम्बुको कर्नर बललाई रमनले उत्कृष्ट गोल गरेका हुन्।
खेलको ६३ औं मिनेटमा सजन राईले गोल गर्दै खेलको अग्रता दोब्बर पारे। पेनाल्टी एरिया नजिकबाट निशानले गोल गर्न चुकेको बललाई सजनले गोल गरेका हुन्। खेलको ७४ औं मिनेटमा निशान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेड गोल गरे। खेलमा धरानका निशान म्यान अफ दी म्याच भए।
सिक्किमका दिपेश मगरले खेलको ३५ औं मिनेटमा खाली पोष्टमा प्रहार गरेको बललाई धरानका सरोज राईले उत्कृष्ट बचाउ गरेका थिए।
पहिलो हाफमा गोल गर्ने केही राम्रा अवसर निकालेको सिक्किमले दोस्रो हाफमा त्यती राम्रो खेल्न सकेन।
सिक्किमका म्यानेजर पेमा भुटियाले पहिलो हाफमा राम्रो खेल खेल्दा खेल्दै गोल गोल गर्न नसकेपछि दोस्रो हाफमा लगातार दुई गोल खाँदा खेलाडीहरुमा उत्साह घट्न गई पराजित हुनु परेको बताए।
धरानका प्रशिक्षक अर्जुन राईले हिजो मंगलबार ईटहरीमा भएको खेलमा सहभागि भएर रातारात पोखरा आउँदा खेलाडी थाके पछि सोचे जस्तो राम्रो खेल प्रदर्शन गर्न नसकेको बताए।
बिहीबार सशस्त्र प्रहरी बलको एपिएफबिरूद्ध सिएमसी संकटा क्लबबीच तेस्रो प्रि–क्वाटरफाईनल खेल हुने छ।