रोनाल्डो बिना खेलेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ।
बिहिबार राति भएको खेलमा लेगानेसलाई १–० ले पराजित गर्दै रियल मड्रिडले जित निकालेको हो ।
पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले गए राति कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो । मड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम मिनेटमा गोल गर्दै रियल मड्रिडले लेगानेसमाथि समग्रमा १ – ० को अग्रता बनाएको हो ।
पहिलो रोजाइका क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो र करिम बेन्जिमाबिना मैदान उत्रिएको रियल मड्रिडले जितका लागि भने संघर्ष गर्नु परेको थियो । यता, बल पोजिसनमा पकड बनाएको रियल मड्रिडविरुद्ध घरेलु टोली लेगानेस अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुन् पुग्यो।
खेलको ८९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए।
जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए । रियालको खराब समय सकिएको जिकीर उनको छ।
यो जितपछि रियल मड्रिडले कोपा डेल रे को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग रियल मड्रिडको घरेलु मैदानमा जनवरी २४ मा हुनेछ। दोस्रो लेगमा रियललाई बराबरी गरे पुग्ने छ भने लेगानेसलाई जित आवश्यक छ।