आर्सनल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ। दोस्रो डिभिजनको क्लब नटिङघम फोरेस्टसँग ४ – २ ले पराजित हुँदै साबिक विजेता आर्सनल प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदानमा आर्सनललाई राेक्न नटिङघम फोरेस्टका इरिक लिचजले दुई तथा बेन बरेटोन र केइरोन डोवेलले एकएक गोल गरे। यता आर्सनलका लागि पेर मेर्टेसेकर र ड्यानी वेलबेकले एकएक गोल फर्काएका थिए।
नटिङघमले पहिलो हाफको २० औं मिनेटमा लिचजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसको तीन मिनेट नबित्दै आर्सनलका मेर्टेसेकरले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। तर, खेलको ४४ औं मिनेटमा लिचजले व्यक्तिगत दोस्रो गोल गर्दै नटिङघमलाई पहिलो हाफमा २ – १ को अग्रता दिलाए।
पहिलो हाफमा २ – १ ले अघि रहेको नटिङघमले ६४ औं मिनेटमा बेरेटोनको गोलबाट अग्रता ३ – १ को बनायो। खेलको ७४ औं मिनेटमा आर्सनलका वेलबेकले गोल गर्दै खेल ३ – २ मा ल्याए। तर, खेलको ८५ औं मिनेटमा डोवेलले गोल गर्दै नटिङघमलाई ४ – २ को सहज जित दिलाए।
जोय वोरल्लले ८९ औं मिनेटमा रातो कार्ड पाएपछि अन्तिम समयमा नटिङघम १० खेलाडीमा समिति भएको थियो।
योसँगै आर्सनल सन् १९९६ पछि पहिलोपटक एफए कपको तेस्रो चरणबाट बाहिरिएको छ। एफए कपमा आर्सनल सर्वाधिक विजेता समेत हो। उसले १३ पटक उपाधि जितिसकेको छ।