इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेकफ म्यानचेस्टर सिटीले आग्रता अझै बढाएको छ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३ – १ ले हराउँदै १५ अंकको अग्रता बनाएको हो।
घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
वाट्फोर्डका क्रिस्टियन काबासेलेले आत्मघाती गोल गर्दा आन्द्रे ग्रेले एक गोल फर्काएका थिए ।
लगातार १८ खेल जितेपछि दुई दिनअघि म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको थियो । तर उसले फेरि जितको लय समातेको छ ।
स्ट्रलिङले खेलको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा क्रिस्टियनले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सिटीले २-० को अग्रता बनायो ।
दोस्रो हाफको ६३ औं मिनेटमा अग्यूरोले गोल गर्दै सिटीलाई ३ – ० को अग्रता दिलाए। त्यसपछि खेलको ८२ औं मिनेटमा वाट्फोर्डका आन्द्रेले एक गोल फर्काएपनि सिटीले ३ – १ को जित निकाल्यो ।
यो जितसँगै सिटीले लिगमा २२ खेलबाट ६२ अंक जोड्दै १५ अंकको अग्रता बनाएको छ। सिजनको १८ औं लिग खेल जितेको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १५ अंकले अग्रता बनाएको हो।
दोस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४७ अंक छ। यस्तै एक खेल कम खेलेको चेल्सी ४५ अंकसहित तेस्रो स्थानमा छ।