इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि अर्को बराबरी खेलेको छ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग गोल रहित बराबरीमा रोकिएको हो। लिगमा यो म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो बराबरी हो।
लगातारको जित बिहीन यात्राले युनाइटेड उपाधि होडबाट पछि पर्दै गएको छ।
अंक तालिकामा चेल्सीले समेत उछिनेको छ।साउथह्याम्पटनसँगको गोलरहित बराबरीपछि तेस्रो स्थानमा झरेको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १४ अंकले पछि छ।
युनाइटेडको २१ खेलबाट ४४ अंक भएको छ। चेल्सीको ४५ अंक भएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ।
खेलको ८२ औं मिनेटमा पउल पोग्बाले गरेको गोल रेफ्रिले अफसाइड भएको भन्दै त्यसलाई मान्यता नदिएपछि युनाटेटको जितबिहिन यात्रा जारी रहेको हो।
खेलपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्होले आफ्नो टिमले पाउनु पर्ने पेनाल्टी नपाएको बताए। पहिलो हाफमा साउथह्याम्पटनका डिफेन्डर माया योशिदाको हातमा बल लागेको थियो । तर रेफ्री क्रेग पावसले युनाइटेडलाई त्यसका लागि पेनाल्टी नदिएको उनले गुनासो गरे।
https://www.youtube.com/watch?v=6k2URCRx7Co