महङ्गो रकममा पिएसजी क्लब गएका ब्राजिली स्टार नेइमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको स्पेनिस पत्रिकाले दाबी गरेका छन्।
स्पेनिस पत्रिका
डायरिओ गोलका अनुसार उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा छन्। नेइमार यहि सिजन विश्वकीर्तिमानी मूल्यमा ला लिगा क्लब छोडेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन्। तर पछिल्लो समय उनी पिएसजीमा खुशी नरहेको र ला लिगा क्लब फर्किन चाहेको भन्ने खबरले नेइमारले ठूलो रकममा आँखा लगाएको आंकलन पनि गरिएको छ ।
नेइमारका बुवा नेइमार सिनियरले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग अनुबन्धका सम्बन्धमा छलफल गरिसकेका छन्। नेइमार सन् २०१९/२० सिजनमा रियल मड्रिड जाने विषयमा दुबै पक्ष राजी भएका छन्।
यद्यपी नेइमार पिएसजीमा आफ्नै नाम भए पनि अझै दुई वर्ष बस्न चाहेकोसमेत बाहिरिएको छ। उनी पिएसजीमै रहेर क्लबबाट च्याम्पियन्स लिग र व्यक्तिगत रुपमा बालोन डी’ओरसमेत जित्न चाहेको उनका नजिकका साथीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। त्यसपछि मात्र नयाँ चुनौतिका साथ नेइमार रियल मड्रिड जाने खबर छ।
तर रियल अध्यक्ष पेरेजले भने नेइमारलाई २ सय २२ मिलियन पाउण्ड तिरेर विश्वको महंगो खेलाडी तथा बर्नाबेउको प्रमुख खेलाडी बनाउन तयार रहेको भन्दै आउँदो सिजनमै क्लबमा भित्र्याउन आतुर रहेको बताएक छन्।
यसअघि बार्सिलोनामा रहँदा लियोनल मेसीको छायाँमा रहेकाले रियल आएपछि नेइमार रोनाल्डोको छायाँमा पर्न नचाहेकोले उनले यो सिजन नरोजेको बताइन्छ।
पत्रिकाका अनुसार नेइमार रोनाल्डोको रियलमा खेल जीवन सकिने बेलामा रियल आउने सम्भावना बढेको छ।
यता नेइमार क्लबमा अनुबन्धका लागि तयार भएको खबरले रोनाल्डो निराश भएको खबर समेत सार्वजनिक भएको छ। हाल उनी क्लब अध्यक्ष पेरेजसँग दोहोरो कुराकानीसमेत गर्न नसक्ने अवस्थामा रहेको बताइन्छ।