पेरिस सेन्ट–जर्मेन (पिएजी) ले फ्रेन्च लिगमा आफ्नो अग्रता कायमै राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले नान्टेसलाई ४–१ को फराकिलो अन्तरले हराउँदै लिगमा दोस्रो स्थानको मोनाकोसँगको अंक दूरी ६ पुर्याएको छ।
पिएसजीको जितमा एडिसन काभानीले दुई तथा एन्जल डि मारिया र पास्टोरीले एक एक गोल गरेका थिए। नान्टेसका लागि नाकोउल्माले एक गोल फर्काए।
पिएसजीको घरेलु मैदानमा भएको खेलमा ३८ औं मिनेटमा काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा डि मारियाले गोल गर्दै पहिलो हाफमा पिएसजीलाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा थप आक्रमक रहेको पिएसजीमाथि ६० औं मिनेटमा नाकोउल्माले नान्टेसले गोल फर्काए।
खेलको ६५ औं मिनेटमा पास्टोरीले गोल गरे। खेलमा ३-१ ले अग्रता लिएको पिएसजीका लागि ७९ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ४–१ ले विजयी भयो।
यो खेलमा नेइमारले केही राम्रा गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेनन्। जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको मोनाकोको २९ अंक छ।