अस्ट्रेलिया फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट हुने अन्तिम एसियाली मुलुक भएको छ।
अन्तरमहादेशीय प्ले अफ अन्तर्गत बुधबार होन्डुरसलाई ३–१ ले हराउँदै अस्ट्रेलिया छानिएको हो।
पहिलो लेग गोलरहित बराबरीमा सकिए पनि अस्ट्रेलियाले घरेलु मैदानमा भएको दोस्रो लेग ३–१ ले जितेर रसियाको टिकट काटेको हो।
अस्ट्रेलियाको जितमा माइल जेडिनाकले २ गोल गरे भने एक गोल उपहार पाएको थियो। जेडिनाकले खेलको ७२ र ८५ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसअघि होन्डुरसका फुगुरोआले ५४ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै अष्ट्रेलियालाई उपहार दिँएका थिए। दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै होन्डुरसले सान्तवना गोल फर्कायो।
योसँगै रसिया विश्वकप खेल्ने ३२ मध्ये ३१ टिमको टुंगो लागिसकेको छ। अब एक टिमको टुंगो लाग्न बाँकी छ।
अन्तरमहादेशीय प्ले अफअन्तर्गत पेरू र न्युजिल्यान्डमध्ये एक टिम आगामी विश्वकप खेल्ने अन्तिम टिम हुनेछन्। बिहीबार बिहान हुने खेलबाट यसको टुंगो लाग्नेछ।
यसअघि पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। जित निकाल्ने टिम विश्वकपमा छानिने छ।
अहिलेसम्म विश्वकपमा छनोट भएका ३१ टिम एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट