डेनमार्क आगामी वर्ष रूसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ। युरोपियन क्षेत्रको छनोट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ को फराकिलो अन्तरले हराउँदै डेनमार्क पाँचौ पटक विश्वकप खेल्ने भएको हो।
यसअघि पहिलो लेगमा गोल रहित बराबरी खेलेर छनोटको सम्भावना जिवितै राखेको रिपब्लिक अफ आयरल्याण्डले दोस्रो लेगमा नमिठो पराजय बेहोर्दै विश्वकप पुग्ने सपना चकनाचुर भयो।
घरेलु टोली आयरल्याण्डले खेलको छैठौं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएका थियो। तर त्यसपछि डेनमार्कलाई खेलको २० औं मिनेटमा आयरल्याण्डका साइरस क्रिष्टिले आत्मघाती गोल उपहार दिँदै खेल बराबरमा आयो। त्यसपछि आक्रमक देखिएको डेनमार्कले ३२ औं मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गर्दै खेलमा अग्रता लिए। त्यसपछि ६३ र ७३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका एरिक्सनले डेनमार्कले ४–१ को अग्रता दिलाए।
खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै निकलस बेन्टनरले गोल गरेपछि डेनमार्क ५–१ ले विजयी हुँदै रुसको टिकट काटेको हो।
गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।
विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन्।
पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रूसको टिकट काट्नेछन्।
यी हुन् अहिलेसम्म विश्वकपमा छानिएका ३० देशहरू युरोप : रुस, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन, डेनमार्क
एसिया : इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया
दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया
उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, पनामा
अफ्रिका : नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को, ट्युनिसिया