डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जिरोनासँग पराजित भएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड जिरोनासँग २ – १ ले पराजित भएको हो ।
जिरोनाको घरेलु मैदानमा खेलको १२औं मिनेटमा इस्कोको गोलबाट सुरुवाती अग्रता लिएको रियल मड्रिडले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको घरेलु टोलीले दुई गोल फर्काउदै साबिक बिजेतामाथि उत्कृष्ट जित निकालेको हो।
दोस्रो हाफको ५४ औं मिनेटमा क्रिस्टियन स्टुवानीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। त्यसपछि खेलको ५८ औं मिनेटमा क्रिस्टियन पोर्टूले थप एक गोल गरेपछि जिरोनाले खेलमा २ – १ को अग्रता लियो। त्यसपछि खेलमा दुबै तर्फबाट गोल भएन र जिरोनाले महत्वपूर्ण जित निकाल्यो।
रियलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको केही उत्कृष्ट प्रहार जिरोनाका किपरले बचाएका थिए ।
यो हारसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनाबिरुद्ध अंक दुरी घटाउने मौकासमेत गुमाएको छ।
लिगको अंक तालिकामा १० खेलबाट लिग लिडर बार्सिलोनाको २८ अंक छ भने लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिड बार्सिलोनाभन्दा ८ अंकले पछि छ । लिगको दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको समान खेलबाट २४ अंक छ।