फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आगामी सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर पुर्याएको छ।
भारतको कलकतामा फिफाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरिएको जानकारी गराएको हो।
तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
यसैबीच विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदनसमेत गरेको छ ।
यस्तैं परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकपसहित फिफाले आयोजना गर्ने केही प्रतियोगिताहरूको मिति समेत तय गरेको छ।
जसअनुसार सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ। महिला विश्वकप सन् २०१९ को जुन ७ देखि जुलाई ७ मा हुने तय गरेको हो। यस्तै सन् २०१८ मा फ्रान्समा हुने फिफा यू २० महिला विश्वकपको मित अगष्ट ५ देखि २४ सम्म तोकेको छ। यस्तै सन् २०१८ मै हुने महिला यु १७ विश्वकप नोभेम्बर १३ देखि डिसेम्मबर १ सम्म हुने तय भएको छ।
https://www.youtube.com/watch?v=acoBmThTEdY