नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी भित्र्याएको छ।
चितवनले गत सिजन खेलेका सोहेल तन्विरलाई निरन्तरता दिएको छ। गत सिजन सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेका सोहेल फेरि नेपाल आउन लागेका हुन्।
पाकिस्तानको राष्ट्रिय टोलीका पूर्व तीव्र गतिका बलर सोहेलले त्रिवि मैदानमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
यस्तै गत सिजन चितवनबाट खेलेका अलराउन्डर रवी बोपारा पनि यो सिजन आबद्ध भएका छन्। इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी बोपारले पनि गत चितवनको ब्याटिङमा उत्कृष्ट योगदान दिएका थिए।
इंग्ल्यान्डका डेविड मलान पनि चितवनबाट एनपिएल खेल्न नेपाल आउने भएका छन्। पहिलो पटक नेपाल आउन लागेका मलानले इंग्ल्यान्डका लागि २२ टेस्ट, ३० एकदिवसीय र ६२ टी-२० खेलेका छन्।
टप अडर ब्याटर मलानले एकदिवसीयमा ६ शतक हानेका छन् भने टी-२० मा १६ अर्धशतक प्रहार गरेका छन्। ३८ वर्षीय मलान कुनै समय आइसिसीको शीर्ष वरीयताको टी-२० ब्याटर थिए।
उनले आइपिएल टिम पञ्जाब किंग्ससहित बिग ब्यास लिग र पाकिस्तान सुपर लिग खेलेका थिए।
यो सिजनको एनपिएल सुरु हुन एक महिना पनि बाँकी छैन। यो सिजनको लिग मंसिर १ देखि सुरू हुँदैछ।