अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-१बी भिसामा लगाएको १ लाख डलर शुल्क अमेरिका बाहिरबाट आउनेलाई मात्रै लाग्ने भएको छ।
अमेरिकाले विज्ञान, प्रविधि लगायत क्षेत्रका दक्ष विदेशी जनशक्ति भित्र्याउन एच–१बी भिसा प्रयोग गर्छ। त्यस्तो भिसा लिनेमा विदेशमा रहेका कामदार मात्रै नभएर अमेरिकामा पढ्दै गरेका विदेशी विद्ध्यार्थी र अरू भिसामा अमेरिकामा रहेका व्यक्ति पनि पर्छन्।
ट्रम्पले गत महिना एच-१बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले अमेरिकी सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम ल्याएका थिए।
त्यतिबेला सो भिसा लिने सबै विदेशीको हकमा त्यो शुल्क लाग्ने बताइएको थियो। तर सोमबार सरकारले नयाँ सूचना निकाल्दै सो शुल्क अमेरिका बाहिर बस्ने विदेशीलाई मात्रै लाग्ने बताएको छ।
यसको मतलब अरू खालका भिसामा अमेरिकामा पहिल्यैदेखि बसिरहेका विदेशीका हकमा सो शुल्क लाग्ने छैन।
यसले विशेष गरी अमेरिकी प्रविधि कम्पनीहरूलाई ठूलो राहत हुनेछ।
ठूला प्रविधि कम्पनीले प्रायजसो अमेरिकामै पढिरहेका वा अल्पकालिन रूपमा काम गरिरहेकालाई सो भिसाका लागि सिफारिस गर्छन्।
द वाल स्ट्रिट जर्नलका अनुसार सन् २०२४ मा जारी गरिएका एक लाख ४१ हजार नयाँ एच-१बी भिसामध्ये लगभग ५४ प्रतिशत अर्कै भिसामा पहिले नै अमेरिकामा रहेका आप्रवासीलाई दिइएको थियो।
ट्रम्पले लगाएको १ लाख डलर शुल्क विरूद्ध अमेरिका भित्रै धेरै मुद्दा परेका छन्। अर्को तर्फ अमेरिकाले एच-१बी भिसामा कडाइ गरेपछि विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्न चीनले अक्टोबरदेखि नयाँ ‘के’ भिसा ल्याएको छ।
यस्तो बेलामा अमेरिकाले एच-१बी भिसामा केहि लचकता देखाएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)