प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचन भयरहित वातावरणमा सम्पन्न सरकार प्रतिबद्ध रहेको र यसका लागि सबै सरकारी संयन्त्र अहोरात्र खटिएको बताएकी छन्।
राजनीतिक दलहरूसँग बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्।
बैठकमा सहभागी स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा चुनाव सम्पन्न गराउन सरकारका मन्त्री, सुरक्षा निकाय लगायत राज्यका सबै संयन्त्रले काम गरिरहेको बताइन्।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले दलहरूसँगको संवादमा किन ढिलाइ भयो भन्ने पनि सोधेका थिए।
यसबारे कार्कीले भनिन्, 'आन्दोलनका घाइतेहरूको उपचार, सहिदको शव व्यवस्थापन र परिवारलाई राहत, आन्दोलनकारी पक्षको आवाज सुनुवाइ गर्नुपर्ने भयो। त्यसले दलहरूसँग संवाद सुरू गर्न समय लाग्यो।'
सुरूआती चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको पनि उनले बताइन्।
त्यसबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट जेन-जी युवा र राजनीतिक दलहरू दुवै पक्षसँग कुराकानी गरेर संवादको ढोका खोलिदिने काम भएको प्रधानमन्त्री कार्कीले बताइन्।
'हामी जसरी हुन्छ स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔं भन्नेमा छौं। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौं। यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,' बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'अब जेन-जी र दलहरू छलफलमा बसौं।'
यसअघि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चुनावमा जानेमा सबैको सहमति देखिएको बताएका थिए।
‘सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो सबैले राख्नुभएको छ,' उनले भने।
उनका अनुसार दलका नेताहरूले पालैपालो आफ्नो धारणा राख्ने क्रम सकिएको छ। नेताहरू शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरूङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव र सर्वेन्द्र शुक्लाले धारणा राखेका हुन्।
एमालेले चुनावको विरोध नगरे पनि चुनाव हुनेमा आशंका व्यक्त गरेको उनले बताए।
‘एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध भने गरेको छैन,’ उनले भने।
छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कृषिमन्त्री मदन परियार उपस्थित छन्।
त्यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाकार अजयभद्र खनाल पनि उपस्थित छन्।
बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत उपस्थित छन्। नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्।
त्यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम छन्।
एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल सहभागी छन्। नेमकिपाबाट प्रेम सुवार सहभागी छन् त्यस्तै रेशम चौधरी र चन्दन सिंह पनि सहभागी छन्।