भदौ २४ को घटनामा ट्राफिक प्रहरीका धेरै थोक जले — कागजपत्र जले, मेसिनहरू जले र धेरैका वर्दी पनि जले।
कार्यालय आगजनी हुँदा वर्दी जलेकैले धेरै दिनसम्म ट्राफिक प्रहरीले सादा पोसाकमा ड्युटी गरेको हामीले देख्यौं।
केही दिनयता भने नयाँ वर्दी लगाएका ट्राफिक प्रहरी ड्युटीमा देखिन थालेका छन्। तर अहिले पनि सबैले नयाँ वर्दी पाइसकेका छैनन्। यस्तोमा कतिपयले एउटै वर्दी आ-आफ्नो ड्युटी पर्दा आलोपालो लगाउने गरेका छन्।
त्यसरी नै वर्दी आलोपालो लगाइरहेका दुई जना ट्राफिक प्रहरीको कथा हो यो।
शिरी र नीर (नाम परिवर्तन) दुवैले नेपाल प्रहरीमा जागिर खाएको एक दशकभन्दा बढी भयो।
कैलाली घर भएका शिरी र रामेछाप घर भएका नीरको भेट प्रहरी तालिममै भएको थियो। तालिमकै बीच उनीहरू एकअर्काका मिल्ने साथी भए। पछि ड्युटीमा पनि धेरैजसो समय सँगै बसे।
घरपरिवारबाट टाढा रहँदा उनीहरू एकअर्काको दु:ख–सुखमा साथी भए।
त्यसैबीच नीरको बिहे भयो। बिहेपछि उनी लाजिम्पाटमा डेरा लिएर श्रीमतीसँग बस्न थाले। शिरी भने उपत्यका ट्राफिक प्रहरी कार्यालयको युनिटमा बस्थे।
बस्ने ठाउँ छुट्टिए पनि भेटघाट पातलो भएन। उनीहरूको ड्युटी कहिले एकै ठाउँमा पर्थ्यो, कहिले फरक हुन्थ्यो।
भदौ २३ गते जेन–जी आन्दोलन चलिरहँदा नीरको ड्युटी लैनचौरमा थियो भने शिरी कमलपोखरीमा थिए। माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्म सवारी चल्न नपाएपछि त्यसको असरले लैनचौर र कमलपोखरीमा पनि चापाचाप थियो।
उपत्यकाको कुनै एउटा मुख्य सडकमा प्रदर्शनी वा कार्यक्रम भयो भने अन्यत्र पनि ट्राफिक व्यवस्थापन गर्न गाह्रै हुन्छ। भदौ २३ गते पनि साँझसम्मै उपत्यकाको ट्राफिक अवस्था भद्रगोल थियो।
भोलिपल्ट २४ गते शिरीको बिहानदेखि ड्युटी थियो। दिउँसो २ बजे ड्युटी सकेर कार्यालय फर्किँदासम्म उपत्यकाका विभिन्न ठाउँमा सरकारी कार्यालयहरू आगजनी र तोडफोडको सिकार भइसकेका थिए। उनको कार्यालय भने त्यति बेलासम्म सुरक्षित थियो।
उनी कार्यालय फर्केर आराम गर्ने सोचमा थिए। तर त्यस्तो भएन।
जताततै भएका आगजनीका घटनाले ट्राफिक प्रहरीमा हलचल मच्चिरहेको शिरी बताउँछन्।
'साँझपख म युनिटमै थिए। केही साथीहरू सडकमा खटिएका थिए,' उनले भने, 'सडकमा भ्रष्टाचारविरूद्ध नारा लगाउँदै आएका एक हुल प्रदर्शनकारीले ढुंगा हान्न थालेपछि हामी सबै बाहिर निस्कियौं।'
त्यही भीडले उनको ट्राफिक कार्यालयमा पनि तोडफोड र आगजनी गर्यो। कार्यालयमा रहेका विभिन्न सरसामग्री, कागजपत्र र उपकरण मात्र जलेनन्, प्रहरीको वर्दी पनि जल्यो। कति वर्दी लुटिए पनि।
यसरी कार्यालयमा विध्वंश मच्चिएपछि शिरी आफ्नो साथी नीरको डेरामा पुगे।
ट्राफिक प्रहरी युनिटमा बस्न सुरक्षित नभएकाले दुई दिन नीरसँगै बसे।
त्यसपछि माछापोखरीमा रहेको आफन्तका घरमा बास बस्न गए।
चार–पाँच दिनपछि उनलाई कार्यालयबाट फोन आयो। उनीसँग आफूले लगाएको एकसरो लुगाबाहेक अरू केही थिएन। कार्यालयमा आगजनी हुँदा उनको वर्दी जलेर नष्ट भइसकेको थियो। उनी सिभिल पोसाकमै कार्यालयमा उपस्थित भए।
'धेरै ट्राफिक साथीहरूको मेरोजस्तै हालत थियो। हामीले पहिलो दिन सिभिल ड्रेसमै ड्युटी गर्यौं,' उनले भने।
दोस्रो दिन भने शिरीलाई एउटा आइडिया आयो।
उनको र नीरको उचाइ र जीउको नापनक्सा लगभग बराबर छ। उनीहरूलाई एकअर्काको लुगा ठ्याक्कै मिल्छ। त्यही भएर दोस्रो दिनबाट उनी नीरकै वर्दी लगाएर ड्युटीमा गए।
'हामीलाई जाडो र गर्मीमा लगाउन भनेर दुई जोर वर्दी दिइएको हुन्छ,' उनले भने, 'जाडोमा भित्र भुवा भएको लुगा हुन्छ भने गर्मीको लुगा अलि पातलो कपडाको हुन्छ। मैले केही दिन नीरको जाडोकै ड्रेस लगाएर काम गरेँ।'
शिरी र नीर दुवै प्रहरी जवान हुन्। वर्दीमा प्रहरीको दर्जा चिह्न पनि एउटै भएकाले नीरको वर्दी लगाउन कुनै समस्या नपरेको शिरी बताउँछन्।
नयाँ वर्दी तयार भएर आउन बाँकी रहेकाले शिरी र नीर अहिले पनि एउटै वर्दी साटफेर गरेर लगाइरहेका छन्। सामान्यतया यी दुई जनाको ड्युटी फरक फरक समयमा पर्छ। एक जना ड्युटीबाट फर्केपछि अर्को त्यही वर्दी लगाएर जाने गर्छन्।
'पहिले एकै ठाउँमा बस्दा पनि हामी लुगा साटफेर गरेर लगाउने गर्थ्यौं। आवश्यक पर्दा वर्दी पनि साटफेर गरिन्थ्यो। अहिले आपतकालीन समयमा हामीले त्यही उपाय अपनायौं,' शिरीले भने।
अभिन्न साथीलाई यस्तो आपत पर्दा नीरले पनि आफ्नो वर्दी दिनमा कुनै समस्या मानेका छैनन्।
'कहिलेकाहीँ आफ्नो ड्रेसमा आइरन लगाउन भ्याइँदैन। त्यस्तो बेला उसको ड्रेस आइरन लगाएर राखेको छ भने म त्यही लगाएर गइदिन्थेँ,' नीरले भने, 'आवश्यक पर्दा मिल्ने साथीहरूबीच एकअर्काको वर्दी साटफेर गर्नु सामान्य कुरा हो।'
हामीले यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीसँग पनि कुरा गरेका छौं।
'आपतकालीन अवस्थामा आफूसँग भएको लुगा कुनै साथीलाई ठिक हुन्छ भने सहयोग गर्ने चलन सामान्य हो। एकअर्कालाई पर्दा सहयोग गर्नु त हामी नेपालीहरूको बानी नै हो,' उनले भने, 'अहिले कसै–कसैले एउटै लुगा साटफेर गरेर पनि लगाएका हुन सक्छन्। सँगै बस्ने साथीहरूबीच यस्तो चलिरहेको होला। तर कति जनाले यस्तो गरेका छन् भन्ने यकिन विवरण हामीसँग छैन।'
उनका अनुसार काठमाडौं उपत्यकाभरिमा ७८ वटा ट्राफिक युनिट छन्। त्यहाँ आबद्ध भएर काम गर्ने धेरै कर्मचारी कार्यालयमै बस्छन्। घरपरिवार हुने व्यक्ति मात्र बाहिर छुट्टै डेरा लिएर बस्ने उनले बताए।
भदौ २४ को घटनामा धेरै प्रहरीको वर्दी जलेकाले साटफेर गरेर लगाउनुलाई आफूले सामान्य रूपमा लिएको उनले बताए।
'केही दिनसम्म त हामी सिभिल ड्रेसमै खटिएका थियौं। अहिले धेरैले नयाँ ड्रेस सिलाइसके,' उनले भने, 'केन्द्रीय प्रहरी कार्यालयमा कपडा स्टक रहेकाले पनि तुरून्तै सिलाउन सजिलो भयो।'
त्यस दिन वर्दी जलेर नयाँ नपाएका ट्राफिक प्रहरी कमै भएको उनको भनाइ छ। कसैले पाउन बाँकी छ भने तुरून्तै उपलब्ध गराइने उनले बताए।
***