आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत पाकिस्तानले भारतलाई २४२ रनको सामान्य लक्ष्य दिएको छ।
युएईको दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान अन्तिम दुई बल खेल्न बाँकी छदा २४१ रनमा अलआउट भयो।
पाकिस्तानका लागि साउद शकीलले ६२ रन बनाए। कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा खुसदिल शाहले ३८ रनको योगदान दिए।
पाकिस्तानका अरू ब्याटर खासै चल्न सकेनन्।
बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट हात पार्दा हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले १-१ विकेट हात पारे।
प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल दुबईमा भएको हो।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन्।
पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारत विरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ। समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघि एक-एक खेल खेलिसकेका छन्।
जसमा भारतले बंगलादेशलाई पराजित गरेको थियो। तर पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो।
सेमिफाइनल सम्भावना कायम राख्न पाकिस्तानले आज भारतलाई पराजित पर्नु बाध्यता छ।
एकदिवसीय खेलमा पाकिस्तानले भारतसँग पछिल्लो आठ वर्षमा तेस्रो खेल खेल्न लागेको छ। सन् २०१७ को पछिल्लो च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतमाथि १८० रनको जित निकालेको थियो। सन् २०२३ को विश्वकपमा भने भारतले घरेलु मैदानमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।
भारत र पाकिस्तानबीच सन् २०११ यता टी-२० र एकदिवसीयका कुल १३ वटा खेल भएका छन्। जसमा भारतले दुई खेल मात्र गुमाएको छ।
सन् २०१७ को च्याम्पियन्स ट्रफी १८० रन र २०२१ मा भएको टी-२० विश्वकपमा १० विकेटको जित निकाल्नुबाहेक पाकिस्तानले भारतविरूद्ध ११ खेलमा हार ब्यहोरेको छ।