सहकारी ठगीको मुद्दामा अदालतमा पूपर्क्षका लागि थुनामा पठाएका रवि लामिछाने शनिबार कारागार फर्कने भएका छन्।
गत भदौ २४ गते प्रदर्शनका क्रममा सयौंका संख्यामा आन्दोलनकारी ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भिड बढ्दै गएपछि कारागार प्रशासले उनलाई बाहिर निकाल्दिएको थियो। उनले कारागार प्रशासनले पत्र दिएपछि आफू जेल बाहिर आएको बताउँदै आएका छन्। उनले सार्वजनिक गरेको जेल प्रशासनले दिएको पत्र विवादमा परेको थियो।
‘म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र, म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्।
यसअघिको सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साधेर आफ्नो जिना हराम (अत्यधिक दुःख) गरेको उनले आरोप लगाएका छन्।
आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेको पनि उनले बताएकी छन्।
‘अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथी नै छोड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन,’ उनको भनाइ छ।
आफूलाई केही दिनअघि कारागारबाट निकालिएको विषयको विवादबारे पनि उनले बोलेका छन्।
त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालिएको उनको दाबी छ।
‘अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो। आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्नँ। मैले कालकुट विष पिएको धेरै भइसक्यो। अर्को एक–दुई थोपो विष पिएर म मर्दिनँ। मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो!,’ उनको भनाइ छ।
कत्राकत्रा षड्यन्त्र झेलिसकेकाले आफ्ना कारणले कुनै एउटा जेलर, एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्न आफूले नचाहेको र सबै कुराको जिम्मा आफै लिने बताएका छन्।
‘तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला। त्यो पनि भइगो मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र? यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेषमा मेजमानी खाइरहेका छन्। म जनताको भीडबाट निस्किएपछि एक्लै छु। एउटा पुलिस पनि मसँग छैन,’ उनले भनेका छन्।
अझै पनि पुराना दलका कार्यकर्ता बदनाम गराउन तल्लिन रहेको उनले बताएका छन्।
‘पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखेँ। हे पुराना दलका सेनामेना साथी हो, तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौ?,’ उनले भनेका छन्।
आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति भने कुनै गुनासो नरहेको बताएका छन्।
‘म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईंलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन। रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ,’ उनले भनेका छन्।
कारागार जाँदै गर्दा उनले केही सुझाव पनि दिएका छन्।
उनले कलिला बच्चाहरूलाई ताकीताकी गोली हानेर मारिएको भन्दै त्यसको छानबिनको माग राखेका छन्। त्यससँगै देशका सरकारी संरचनाहरू ताकीताकी ध्वस्त बनाइएको भन्दै त्यसको छानबिनको माग राखेका छन्।
‘त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ। दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकीताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरू कारबाहीको दायरामा तत्काल आउनुपर्छ। देशका संरचनाहरूमा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ती र सामथ्र्य प्रदान वचन छ,’ उनले भनेका छन्।
उनले केही माग पनि अघि सारेका छन्:
१) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ।
२) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
३) कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्वादेखि न्यायाधीशसम्मले फेरि जाँच दिनुपर्छ।
४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ।
५) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ।