आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ।
क्यानडाको ओन्टेरियोमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन।
ओपनर कुशल भुर्तेल, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल टोलीमा अघिल्लो खेलमा थिएनन्। अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेखलाई टोलीमा निरन्तरता दिइएको छ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), अनिलकुमार साह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी।
क्यानडामा नेपालले आज लिग-२ को तेस्रो खेल खेल्न लागेको हो।
आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल लगातार चार खेलमा पराजित भइसकेको छ। लिगका सुरूवाती ६ मध्ये पाँच खेलमा पराजित भएको नेपाल लिग-२ का आठ टोलीमध्ये सबैभन्दा कमजोर देखिएको छ।
गत फेब्रुअरीमा कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरूद्ध जित निकालेपछि नेपालले खेलेका चार खेलमा लगातार पराजय भोगेको हो।
नामिबिया र नेदरल्यान्ड्सविरूद्धको सो सिरिजका पछिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो।
अहिले नेपाल लिग-२ को दोस्रो सिरिज खेल्न क्यानडामा छ। क्यानडामा पनि नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोरिसकेको छ।
पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपालले अघिल्लो खेलमा ओमानसँग पराजय भोगेको थियो।
यस्तोमा नेपाल सिरिजको तेस्रो खेलमा क्यानडासँग आइतबार राति प्रतिस्पर्धा गर्दैछ। क्यानडाको अन्टेरियोस्थित किंग सिटीमा राति पौने ९ बजे सुरु हुने खेलमा नेपालको मुख्य चुनौती ब्याटिङ हुनेछ। नेपालले लिग-२ मा ब्यहोरेका पाँच खेलमा नै खराब ब्याटिङ गरेको थियो।
अझ लगातार पराजित हुँदा नेपाली टोलीमा लयमा फर्कनु पर्ने चुनौती समेत थपिएको छ। त्यसैले आइतबार क्यानडाविरूद्धको खेलमा नेपाललाई जित निकाल्नु पर्ने अर्को दबाब पनि थपिएको छ।
टोलीमा नेपालका लागि सुरुवाती ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। बलिङमा ठिकठाक प्रदर्शन गरिरहेको नेपालको मुख्य समस्या डेथ ओभरमा राम्रो बलिङ गर्न नसक्नु पनि हो।