विवादित नेपाल टी-२० लिगको टोली मध्येको एक पोखरा एभेन्जर्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो टोलीलाई पनि समावेश गर्न माग गरेको छ।
पोखरा एभेन्जर्सले यसअघि नेपाल क्रिकेट संघको आयोजनामा भएको नेपाल टी-२० लिगमा तीन करोड भन्दा बढी रूपैयाँ लगानी गरेकाले सो लगानीको सुनिश्चितताको लागि एनपिएलमा पनि फ्रेञ्चाइज दिन माग गरेको हो।
२०२२ को अन्तिममा भएको नेपाल टी-२० लिग विवादित बनेको थियो। भारतको सेभेन थ्री स्पोर्ट्सलाई रणनीतिक साझेदार बनाएपछि लिग विवादित बनेको थियो। जसमा लुम्बिनी अलस्टार्समा अमेरिकामा रहेका नेपालीको लगानी भएको थियो भने पोखरामा नेपालका सुवोध त्रिपाठीले लगानी गरेका थिए। बाँकी भारतीयको लगानी भनिए पनि कतिपय मालिकबारे अन्योलता थियो।
तर नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सार्वजनिक भएको थियो भने सेभेन थ्रीका मालिक लिगको बीचैमा भारत भागेका थिए। त्यसपछि सेभेन थ्रीले क्यानसँगको आठ वर्षको सम्झौता रद्द भएको घोषणा गरेका थिए। पछि क्यानले पनि सेभेन थ्रीसँगको सम्झौता रद्द गरेको थियो।
सम्झौता रद्द भए पनि आफूहरुलाई क्यानले आफूले आयोजना गर्ने लिगमा स्थान दिने आश्वासन दिएको पोखराका मालिक त्रिपाठीले बताए। साथै उनले क्यानले गर्न लागेको नेपाल प्रिमियर लिगमा पनि आफूहरुले प्रक्रियाअनुसार दाबी गरेको बताए। तर पोखरा पाउनेमा आफूहरु ढुक्क भने नभएको उनको भनाइ छ। उनका अनुसार पोखरा टोलीका लागि उनले तीन करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन्।
सार्वजनिक सूचनाको आधारमा टोली खरिद प्रक्रियामा समावेश भएपछि आफूले नै टोली पाउनु पर्ने माग कतिको जायज हो? भन्ने प्रश्नमा त्रिपाठीले क्यानले गरेको सूचनामाथि नै प्रश्न उठाउँदै टोली छान्ने प्रक्रियामा पनि शंका गरे।