पाकिस्तानी ब्याट्सम्यान हैदर अलीलाई ग्रेटर म्यानचेस्टर पुलिसले आपराधिक अनुसन्धानको दायरामा राखेको छ।
अनुसन्धानको नतिजा नआएसम्मका लागि पाकिस्तान क्रिकेट बोर्डले उनलाई अस्थायी रूपमा निलम्बन गरेको छ।
आपराधिक कार्य कस्तो प्रकारको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन। इएसपिएनक्रिकइन्फोका अनुसार हैदर हाल बेलायतमा हिरासतमा छैनन्। यद्यपि ग्रेटर म्यानचेस्टर पुलिसले उनलाई कानुनी सावधानीसहित सोधपुछ गरेको थियो।
पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै यस अनुसन्धानबारे जानकारी भएको बताएको छ। यो घटना सोमबार सकिएको पाकिस्तान शाहिन्साको हालैको इंग्ल्यान्ड भ्रमणका क्रममा भएको हो। बोर्डले यो प्रक्रियाभरि हैदरका लगि कानुनी सहायता प्रदान गरिरहेको पनि पुष्टि गरेको छ।
‘क्रिकेटर हैदर अली संलग्न रहेको ग्रेटर म्यानचेस्टर पुलिसद्वारा सञ्चालित एक आपराधिक अनुसन्धानबारे बोर्डलाई जानकारी गराइएको छ। यो अनुसन्धान पाकिस्तान शाहिन्सको हालैको इंग्ल्यान्ड भ्रमणका क्रममा भएको भनिएको एक घटनासँग सम्बन्धित छ। संयुक्त अधिराज्यको कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्दछ र अनुसन्धानलाई आफ्नो गतिमा अघि बढ्न दिनुको महत्त्वलाई स्वीकार गर्दछ। अनुसन्धानको नतिजा नआएसम्मका लागि हैदर अलीलाई तत्कालै लागू हुने गरी बोर्डले अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। कानुनी कारबाही सकिएपछि र सबै तथ्यहरू स्थापित भएपछि, बोर्डले आवश्यक परेमा आफ्नो आचारसंहिता अनुसार उपयुक्त कारबाही गर्ने अधिकार सुरक्षित राख्दछ,’ बोर्डको भनाइ छ।
२४ वर्षीय हैदरले पाकिस्तानका लागि २ एकदिवसीय र ३५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनी शाहिन्सा टोलीको बेलायत भ्रमणमा एक सिनियर खेलाडी थिए। उनले त्यहाँ प्रथम श्रेणीको टोलीविरुद्ध तीनवटै ५०-ओभरका खेल र दुईवटा तीन-दिवसीय खेल खेलेका थिए।
पाकिस्तान शाहिन्ससँग नेपालले पनि अगस्टमै खेल्ने कार्यक्रम छ। पाकिस्तानी टोलीसँग नेपालले अस्ट्रेलियाको डार्बिनमा हुने टप एन्ड सिरिजमा खेल्दैछ।