दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्केल भारतीय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षक नियुक्त भएका छन्।
बुधबार औपचारिक रूपमा बीसिसिआईका सचिव जय शाहले मोर्केलसँग सम्झौता पुष्टि गरेका हुन्।
मोर्केलले भारतका पूर्व फास्ट तीव्र गतिका पारस म्हाम्ब्रेको स्थान लिनेछन्। प्रमुख प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा सहायक प्रशिक्षकद्वय अभिषेक नायर र रायन टेन डोसे छन्। यस्तै फिल्डिङ प्रशिक्षक टी दिलीपको गरी कुल पाँच जना प्रशिक्षक भारतीय टोलीमा हुनेछन्।
मोर्केल गत डिसेम्बरसम्म पाकिस्तानका बलिङ प्रशिक्षक थिए। उनको नाम गम्भीरले सिफारिस गरेका थिए। आइपिएलमा लखनऊ सुपर जायन्ट्स र एसए २० मा डरबन सुपर जायन्ट्समा दुई सिजनमा दुवैले सँगै काम गरेका थिए।
मोर्केलले १२ वर्षको अन्तर्राष्ट्रिय करियरमा ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी-२० खेलेका थिए। जसमा उनले ५४४ विकेट लिए।
संन्यास पछि मोर्केल विभिन्न टोलीका बलिङका प्रशिक्षक भए। पाकिस्तान र लखनउबाहेक मोर्केल सन् २०२३ को महिला टी-२० विश्वकपमा न्युजिल्यान्डको टोलीमा तथा टी-२० विश्वकप २०२४ मा नामिबियाको टोलीमा प्रशिक्षक थिए।